राप्रपाका शीर्ष नेतालाई भेटेपछि पूर्वराजा शाहले सोधे- देशको परिस्थिति कस्तो छ?

राप्रपाका शीर्ष नेतालाई भेटेपछि पूर्वराजा शाहले सोधे- देशको परिस्थिति कस्तो छ?
तस्बिर : राप्रपा नेता रविन्द्र मिश्रको फेसबुकबाट

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन्।

रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई आज राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्बिर राप्रपाका नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा राखेका छन्।

पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन सहित नेताहरू रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दीपक बहादुर सिंह देखिन्छन्।

पूर्वराजा शाहसँगको तस्बिर राख्दै नेता मिश्रले लेखेका छन्, ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ। म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु। मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो। सबै नेपाली मेरो लागि बराबर छन्।’

भेटमा सहभागी राप्रपा महामन्त्री राणाले पूर्वराजा शाहले देशको परिस्थितिबारे जान्न खोजेको बताए।

उनका अनुसार राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि राप्रपाले घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजा शाहलाई जानकारी गराइएको थियो।

पुष १८, २०८० बुधबार १६:५६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।