भारतीय विदेशमन्त्री जयशंकर भोलि नेपाल आउने औपचारिक घोषणा, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

भारतीय विदेशमन्त्री जयशंकर भोलि नेपाल आउने औपचारिक घोषणा, राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने

काठमाडौं : भारतीय विदेश मन्त्रालयले विदेशमन्त्री डा. एस जयशंकर भोलि नेपाल आउन लागेको औपचारिक घोषणा गरेको छ।

भोलिदेखि काठमाडौंमा सुरू हुने नेपाल र भारतको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका छन्।

बैठकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री जयशंकर भोलि बिहान काठमाडौं आउने भएका छन्।

‘संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत् विषयमा समीक्षा गर्ने’, परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनीसँगै भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मंत्रालयका प्रवक्ता अरिंदम बाग्ची, विदेश मन्त्रालय अन्तर्गत सीमा व्यवस्थापन लगायतका अधिकारीहरू पनि आउने छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूतले स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ।

आयोगको बैठक सकेर उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम रहेको छ।

पुष १८, २०८० बुधबार १६:१३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।