जातियताको गीत भन्दा माथि उठ्न नसकेका यश कुमार

जातियताको गीत भन्दा माथि उठ्न नसकेका यश कुमार

काठमाडौं : गायक यश कुमारले आफ्ना अधिकांश सिर्जनामा जातीय विभेद तथा छुवाछुतको विषयलाई उठाउँदै आएका छन्।

साङ्गीतिक क्षेत्रमा लागेको करिब २५ वर्षको अवधिमा उनले सिर्जना गरेका र गाएका अधिकांश गीतमा छुवाछुतविरोधी विषयलाई उठाएको देखिन्छ।

उनले पछिल्लो समय यस्तै छुवाछुतको विषयमा म्युजिकल फिल्म रिलिज गरेका छन्।

हिजो काठमाडौंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गरी म्युजिकल फिल्म ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरेका हुन्।

यो गीतमा उनले बाहुन र लिम्बू समुदायबीचको प्रेमको विषयलाई उठाएका छन्। नेपालको पुर्वी जिल्ला ताप्लेजुङ आसपासमा बसोवास गर्दै आएका बाहुन र लिम्बूबीचको भेदभावलाई म्युजिकल फिल्ममा समावेश गरेका छन्।

भिडियोमा उनले बाहुन थरको केटोले लिम्बू जातिको छोरीसँग प्रेम गर्दा परिवार बाधक बनेको देखाएका छन्। भिडियोमा दुई समुदायबीचको झगडालाई प्रस्तुत गरेका छन् भने झगडा गर्दा अश्लील भाषालाई समेत समावेश गरेका छन्।

बाहुनको छोरा बनेका यश कुमारले लिम्बूको छोरी बनेकी अनु थापासँग प्रेम गर्छन्। लिम्बूको छोरी ताकेको भन्दै यशका बुबाले थाहा पाएपछि लिम्बूनीको बुबालाई थर्काउन उसैको घरमा पुग्छन्। सुँगुरको मासु काटी रहेका अनु थापाका बुबा बनेका प्रेम सुब्बा (लिम्बू)लाई ओए सुँगुरे भन्ने शब्दले थर्काउँछन्। यता लिम्बूले पनि अश्लील पारामा गाली गर्छन् र सुँगुर काट्दा काट्दैको खुकुरी उझ्याउँछन्। 

भिडियोमा केटीका बुबाले आफ्नै जातको अर्को केटालाई छोरी दिन्छन्। अन्ततः आफ्नै जातको भएता पनि छोरी प्यारालाइसिस भएपछि माइत नै फर्काइदिन्छ भन्ने सन्देश भिडियोको छ।

प्रेममा परेकाहरूले जातियता हेर्दैनन् भन्ने भाव गीत र भिडियोको छ।

बाहुन थरको केटोले लिम्बूनी अर्थात् प्रेमिकाको यादमा बिर्सन नसकेर मन भुलाउन ताप्लेजुङको पाथीभरामा तिर्थयात्री बोक्ने भरियाको काम गर्छ। छोरीले पाथीभरा जाने चाहना राखेपछि लिम्बूले पनि मन्दिर लैजान्छ।

प्यारालाइसिस भएकी छोरीलाई भेट्दा भरिया यश नै हुन्छन्। उनीहरू विदेशमा श्रीमती प्यारालाइसिस भएर फर्किए पछि पर्खेर बसेको हुन्छ। उनीहरूले बाचा गरे अनुसार पाथीभरा देवीको दर्शन गर्दै त्यहीँ यशले सिन्दुर लगाइदिन्छन्। माया प्रेममा कुनै पनि जातले छुँदैन भन्ने शब्दलाई उनले म्युजिकल फिल्ममा समावेश गरेका छन्।

ताप्लेजुङ तथा पुर्वका मान्छेहरूले बोल्दा अश्लील बोल्ने कुरालाई सामान्य लिने गरेको उनले बताए। उनले भने, ‘यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु। यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छु।’

उनले गीतमार्फत आफूले मौलिक देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेको स्वीकार गर्दै यसलाई दर्शकहरूले अश्लील शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह गरे।

म्युजिकल फिल्म हेर्न उपस्थित भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि अश्लील शब्दलाई पुर्वका मान्छेले सामान्य रुपमा लिने गरेको कुरामा समर्थन जनाए।

‘यो पुर्वका अधिकांशले सामान्य नै बोल्छन्’ भन्दै उनले हात हल्लाएर समर्थन जनाए।

उनले भने, ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो। किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ। यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ।’

म्युजिकल फिल्ममा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन्। भिडियोको निर्देशन विज्ञान राईले गरेका हुन्।

पुष १८, २०८० बुधबार १४:१९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।