लेबनानमा भएको ड्रोन आक्रमणमा मारिए हमासका वरिष्ठ अधिकारी सालेह अल-अरौरी

लेबनानमा भएको ड्रोन आक्रमणमा मारिए हमासका वरिष्ठ अधिकारी सालेह अल-अरौरी

एजेन्सी : हमासका वरिष्ठ अधिकारी सालेह अल-अरौरीको मृत्यु भएको छ।

हिजबुल्लाहको गढ रहेको लेबनानको बेरुतस्थित दक्षिणी उपनगर दहियाहमा भएको ड्रोन आक्रमणमा मङ्गलबार उनको मृत्यु भएको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ।

उक्त समाचार एजेन्सीका अनुसार ड्रोनले हमासको कार्यालयमा प्रहार गर्दा अरौरीसहित छ जनाको मृत्यु भएको छ।

हमासले अरौरीको मृत्यु भएको पुष्टि गर्दै यसलाई ‘कायरपूर्ण हत्या’ भन्दै प्यालेस्टाइन भित्र र बाहिर प्यालेस्टाइनीहरूमाथि भएको आक्रमणले आफूहरू कत्ति पनि विचलित  नभएको बताएको छ।

अल-अरौरीको मृत्युको खबरपछि उत्तरी रामल्लाहको कब्जा गरिएको वेस्ट बैंक शहर अरुराका मस्जिदहरूले उनको मृत्युमा शोक मनाइरहेका छन्। बुधवारका लागि रामल्लाहमा आम हड्तालको आह्वान गरिएको छ।

सालेह अल-अरौरी को थिए?
५७ वर्षीय अल-अरौरी हमासको राजनीतिक ब्यूरोका उप-प्रमुख र समूहको सशस्त्र शाखा, कसम ब्रिगेडका संस्थापकमध्येका एक थिए।

इजरायलको जेलमा १५ वर्ष बिताएपछि उनी लेबनानमा निर्वासन जीवन बिताइरहेका थिए। अक्टोबर ७ मा युद्ध सुरू हुनुअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उनलाई मार्ने धम्की दिएका थिए।

पछिल्लो समय अल-अरौरीले समूहको प्रवक्ताको भूमिका निभाइरहेका थिए। संयुक्त राष्ट्र संघले सन् २०१५ मा अल-अरौरीलाई ‘वैश्विक आतंकवादी’ घोषित गर्दै उनको बारेमा जानकारी दिनेलाई ५० लाख अमेरिकी डलर पुरस्कार दिने बताएको थियो।

हमास अधिकारीको मृत्युको बारेमा इजरायलबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। यद्यपि इजरायली प्रधानमन्त्री नेतान्याहूका सल्लाहकार मार्क रेगेभले एक अमेरिकी पत्रिकासँग कुरा गर्दै आक्रमणको जिम्मवारी नलिने बताए।

‘यो कसले गर्यो, यो स्पष्ट हुनुपर्छ, यद्यपि यो लेबनान राज्यविरुद्धको आक्रमण थिएन,’ उनले भने, ‘जसले यो गर्यो उसले हमास नेतृत्वविरुद्ध सर्जिकल स्ट्राइक गर्यो।’

यद्यपि, संयुक्त राष्ट्रका लागि पूर्व इजरायली राजदूत ड्यानी ड्याननले आक्रमणको प्रशंसा गर्दै इजरायली सेना, सुरक्षा सेवा शिन बेट र इजरायलको गुप्तचर एजेन्सी मोसादलाई अल-अरौरीलाई मारेकोमा बधाई दिए।

पुष १८, २०८० बुधबार १३:५४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।