छामखोलामा बिलाए सुजन, ह्वारह्वार बलिरहेको चितामा निभ्यो नन्दाको आशाको दियो
सुर्खेत : पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियन भाषा परीक्षाको विषयमा भएको आन्दोलनका क्रममा दैलेखको महावु गाउँपालिका-६ रानीवन घर भएका २१ वर्षीय सुजन रावतको मृत्यु भयो।
प्रहरी र आन्दोलनकारीबीचको धरपकडमा सुजनको छातीमा गहिरो चोट लागेर बेहोस अवस्थामा ढले। साथीहरूले उनलाई नजिकैको किष्ट मेडिकल कलेज पुर्याए।
त्यहाँ पुर्याए लगत्तै डाक्टरले उनलाई बचाउन प्रयास गरे तर सकेनन् अनि दिउँसो १ बजे मृत घोषणा गरे। उनीसँगै अछामका वीरेन्द्र शाहको पनि आन्दोलनमै क्रममा प्रहरीबाट मारिए।
यस विषयमा छानबिन गर्नका लागि सरकारले छानबिन समिति र उच्चस्तरीय छानबिन आयोगसमेत गठन गरेको छ।
त्यस यता उनका आफन्तहरूले सुर्खेत, दैलेख, काठमाडौं र ललितपुरमा आन्दोलन गरे। प्रहरीले नियमअनुसार विधि नपुर्याइ आन्दोलनामा अधिक बल प्रयोग गरेको उनीहरूको आरोप छ।
सोमबार आन्दोलनरत मृतकका आफन्त र सरकारबीच चार बुँदे सहमति भयो। जसमा सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्न पहल गर्नेदेखि परिवारका एक/एक जनालाई रोजगारी दिने भनिएको छ।
चार बुँदे सहमतिपछि मृतकका परिवारले शव बुझे। मंगलबार दुवै मृतकको शव नेपाली सेनाको हेलिकप्टरबाट गाउँ ल्याइयो। सुजनको मृत्युले शोकमा डुबेको गाउँमा शव झारिएपछि रुवाबासी चल्यो।
सुजनका आमालाई गाउँलेले काठमाडौंको अस्पतालको आईसीयूमा राखेर सुजनको उपचार भइरहेको भनेर ढाँटेका थिए। तर, मंगलबार एक्कासी आँगनमा छोराको शव आइपुग्यो उनी मुर्छा पर्छिन्। केहीले गाउँलेले उनलाई मन बलियो बनाउन भन्दै ढाडस पनि दिए। तर ढाडस दिनेहरू आफैँ सम्हाल्निन सकेनन्। पूरै गाउँ शोकमा पर्यो।
श्रीमान् गुमाएको एक वर्षमै छोरा पनि गुमाउँदा नन्दा सम्हालिनै सकिनन्। छोरीलाई अङ्गालो हाल्दै रुन थालिन्।
पैसा कमाएर बहिनीको बिहे गर्ने अनि बुवाको क्यान्सरको उपचार गर्दा लागेको ऋण तिर्न कोरियन भाषा पढ्न काठमाडौं गएका थिए सुजन।
‘पैसा कमाएर बहिनीको बिहे गर्छु, बुवाको उपचार गर्दा लागेको ऋण तिर्छु भनेर पढ्न गएको छोरालाई मारिदिए। दुई/तीन कम्बल ओढेर सुत्ने छोरो यतिका दिनसम्म अस्पतालको चिसोमा कठ्याग्रिएर बस्यो,’ सुजनको शव अङ्गाल्दै नन्दाले भनिन्, ‘बुढेशकालको सहारा गुम्यो।’
सुजनको मंगलबार नै छामघाट खोलामा अन्त्येष्टि गरिएको छ। एक वर्षअघि सुजनका बुवा भक्तबहादुर रावतको क्यान्सरका कारण मृत्यु भएको थियो। भक्तबहादुर दैलेखमा एक सफल व्यवसायी थिए।
२०७९ साल मंसिरमा १२ गते भक्तबहादुरको उपचारकै क्रममा मृत्यु भएको थियो। उनको उपचारमा सबै सम्पत्ति सकिएर ऋण लागेपछि ऋण तिर्न कोरिया जाने योजनासहित केही महिनाअघि सुजन काठमाडौं गएका थिए।
सुजनको घरमा आमा एक बहिनी र एक भाइ रहेका छन्। उनी परिवारको जेठो सन्तान हुन्।
केन्द्र सरकारले सुजनका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कर्णाली प्रदेश सरकारले पनि सुजनको परिवारलाई दुई लाख रुपैयाँ दिने भएको छ।
भएको के थियो?
शुक्रबार दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरू आन्दोलनमा उत्रिए।
कोरियामा पानी जहाज बनाउने काम (शीप बिल्डिङ)को परीक्षामा सहभागी ३२ हजारमध्ये अनुत्तीर्ण भएका केही युवाहरू बिहीबारैदेखि शाखा बाहिर पुगेर आक्रोश पोखिरहेका थिए।
पुन: उत्पादनमुलक र कृषि क्षेत्रको भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने उनीहरूको माग थियो। केही रिट बोकेर उच्च अदालत पाटन गए।
अदालत गएका १८ जनाको हकमा परीक्षामा सहभागी गराउन आदेश पनि आयो। अदालत नगएकाहरूले पनि परीक्षामा सहभागी गराउन दबाब दिन केही युवाहरू शुक्रबार बिहानै बालकुमारीमा रहेको वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली शाखा (इपिएस)को कार्यालय अगाडि भेला भए।
बिहीबारदेखि नै त्यहाँ अनुत्तीर्ण युवाहरूले गतिविधि र हुलदङ्गा अनुगमन गरिरहेको प्रहरी प्रशासन चनाखो नहुने कुरै भएन। आसपास सुरक्षाकर्मी परिचालित नै थिए।
शुक्रबार कार्यालय खुलेदेखि नै नाराबाजी शुरू भयो। प्रहरीले उनीहरूलाई पेल्दैपेल्दै तितरवितर बनाउने प्रयास शुरू गर्यो। प्रदर्शनकारी संख्या थपिँदै दुई हजार हाराहारी जम्मा भए। उनीहरूले सवारीसाधन र प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले तितरवितर गर्न लाठी प्रहार गर्यो।
त्यतिले मात्र नसक्ने भएपछि टियर ग्याँस नै हान्यो। प्रदर्शनकारीमध्ये कोही सातदोबाटोतिर लागे भने केही बालकुमारी करिडोरतिर कुदे। सवारीसाधन ठप्प भइसकेको थियो। त्यही बेलामा बा २ झ ५८६१ नम्बरको सरकारी गाडी बालकुमारी करिडोरतिरबाट निस्कियो।
सरकारी गाडी देखेपछि प्रदर्शनकारीहरू जोसिए अनि अगाडि उभिएर गाडी रोके। केहीले हावाको टायर फुस्काउ थाले। गाडी नजिक प्रदर्शनकारीहरूको भीड बढ्न थाल्यो।
गाडी जलाउन लागेपछि भित्रबाट तीन जना निस्किए। चालक अनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला। उनका पीएसओ थिए गाडीमा। पीएसओ र चालकले मन्त्रीलाई गाडीबाट निकालेर सुरक्षित स्थानतिर लगे। यता गाडीमा आगो लाग्यो अनि ह्वारह्वार बल्यो।
त्यो बेलासम्म सशस्त्र प्रहरी पनि थपिइसकेको थियो। मन्त्रीको गाडीमा आगो लागेको देखेपछि दुवै सुरक्षा संगठन प्रदर्शनकारीमाथि जाइलागे। उनीहरूले गोली चलाए। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले ‘मन्त्रीलाई रेस्क्यू’ गरेको बताए।
मन्त्रीको गाडीमा आगो लागेर मन्त्रीलाई ‘रेस्क्यू’ गरेपछि प्रहरीले पुन: प्रदर्शनकारीहरूलाई तितरवितर बनायो। १७ जना पक्राउ परे। दुई जना घाइते भए। घाइते सुजन राउत र वीरेन्द्र साहको मृत्यु भयो।
पुष १८, २०८० बुधबार ०८:३५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।