प्रधानमन्त्री कपको उपाधिका लागि आज कोशी र एपीएफ भिड्दै
काठमाडौं : प्रधानमन्त्री कप महिला टी२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्विविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे हुनेछ।
एपीएफले प्रतियोगिताभर अपराजित छ। एपीएफसँग पहिलो क्वालिफायरमा हारेको कोशीले दोस्रो क्वालिफायरमा साबिक विजेता सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएर एपीएफसँगको फाइनल भिडन्त पक्का गरेको हो।
एपीएफको कप्तानी सीता राना मगरले सम्हाल्दा कोशीको कप्तानी रुबिना क्षेत्रीले सम्हाल्दै आएकी छन्।
धेरै खेल खेलाउनका लागि नेपाल क्रिकेट संघले महिला क्रिकेटमा पहिलो पटक राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता सञ्चालन गरेको हो।
क्यानले यसअघि सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी शीर्ष दुई टोलीलाई सेमिफाइनल खेलाउने गरेको थियो।
मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा पुस ५ देखि सुरू भएको प्रतियोगितामा विभागीय टोली एपीएफ र सात प्रदेशगरी आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।
पुष १८, २०८० बुधबार ०७:२७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।