प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको अग्नि सापकोटाको खुलासा

प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको अग्नि सापकोटाको खुलासा

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा रहेको बताएको छ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीहरू फेरिने चर्चा भइरहेको बेला सरकारको काम थप प्रभावकारी बनाउन मन्त्रिमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

आज पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको विशेष रुपान्तरण अभियानको समापनका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले उनी मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिरहेको भन्ने बुझिने बताए।

उनले गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्ने प्रधानमन्त्रीको तयारी रहेको पनि बताए।

‘प्रधानमन्त्रीको अभिव्यक्ति बुझ्दा आवश्यक पर्दा पुनर्गठनका लागि तयारी गर्दैछु भन्ने छ। गठबन्धन सरकार भएको हुनाले गठबन्धनमा राम्रो समझदारी गरेर मात्रै निष्कर्षमा पुग्नुपर्छ भन्ने लागेको छ‚’ उनले भने, ‘तर प्रधानमन्त्रीको अभिव्यक्तिले उहाँमा मन्त्रिमण्डल पुनर्गठन गरेर भए पनि काम अघि बढाउनुपर्छ, सिंगो मन्त्रिपरिषद्को काम प्रभावकारी बनाउनुपर्छ भन्ने छ। उहाँले आफ्नो धारणा दिशा निर्देशका लागि भनिरहनुभएको छ। त्यसकै आधारमा छलफल चल्छ र के गर्ने भन्ने टुंगोमा पुग्छ।’

पुष १७, २०८० मंगलबार १७:०१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।