चैत नौ गतेलाई प्रदर्शन मिति तोक्दै ‘महाजात्रा’को पोस्टर सार्वजनिक

चैत नौ गतेलाई प्रदर्शन मिति तोक्दै ‘महाजात्रा’को पोस्टर सार्वजनिक

काठमाडौं : आगामी चैत ९ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘महाजात्रा’ले पोस्टर सार्वजनिक गरेको छ।

फिल्मका लेखक तथा निर्देशक प्रदिप भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोस्टरमा मुख्य चार कलाकार देखिएका छन्।

हरिवंश आचार्यलाई ह्विलचेयरमा राखेर विपिन कार्की अर्थात फणिन्द्रले डोर्याउँदै छन् भने विपिनको दुईपट्टी जयस र मुन्ना अर्थात रविन्द्रसिंह बानियाँ र रविन्द्र झा छन्।

उनीहरू पछाडि पृष्ठभूमिका एक डेलिभरी भ्यान छ भने अगाडि हजार-हजारका नोटका गड्डी छन्। यसले पनि फिल्मको कथा पैसा र यी चार पात्रबीचको सम्बन्ध वरिपरि घुमेको अनुमान लगाउन गाह्रो पर्दैन।

षट्कोण आट्र्सको ब्यानमार बनेको फिल्मलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका छन्। फिल्मका कार्यकारी निर्माता रबिन्द्रसिंह बानियाँ हुन्।

फिल्ममा आचार्य, बानियाँ, कार्की र झाका अलावा वर्षा राउत, प्रकाश घिमिरे लगायतका कलाकारहरूको मुख्य भूमिका छ।

फिल्मका निर्देशक प्रदिप भट्टराईले चलचित्र निर्माण र निर्देशनमा आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताएका छन्।

उनले पिक्वेल चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’लाई दिएको साथका लागि दर्शकलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

पुष १७, २०८० मंगलबार १४:०४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।