जापानमा भूकम्पबाट अहिलेसम्म ३० जनाको मृत्यु

जापानमा भूकम्पबाट अहिलेसम्म ३० जनाको मृत्यु

एजेन्सी : जापानमा सोमबार गएको भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। स्थानीय प्रशासनले उनीहरूको मृत्यु भएको पुष्टि गरेको छ।

सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन आग्रह गरेको थियो।

तर, यो चेतावनीलाई मंगलबार बिहान एडभाइजरीमा बदलिएको छ। सुनामीको सम्भावना कम भएसँगै यसलाई एडभाइजरीमा बदलिएको बीबीसीले जनाएको छ।

अहिलेसम्म वाजिमामा १६ र सुजुमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।भूकम्पपछि मानिसलाई बचाउने प्रयास भइरहेको छ भने एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन्।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित जनतालाई छिट्टै सहयोग पुग्ने आश्वस्त पारेका छन्।

उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ। भवनमा फसेका व्यक्तिहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बाहिर निकाल्न प्रयासरत छौँ।’

पुष १७, २०८० मंगलबार १३:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।