क्यानडेली नागरिक सतिन्द्रजीत सिंह भारतमा आतंकवादी घोषित

क्यानडेली नागरिक सतिन्द्रजीत सिंह भारतमा आतंकवादी घोषित

एजेन्सी : क्यानडेली नागरिक सतिन्द्रजीत सिंह उर्फ ​​गोल्डी ब्रारलाई भारतले आतंकवादी घोषणाा गरेको छ।

पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याको मुख्य योजनाकार भन्दै आतंकवाद विरोधी कानून यूएपीए अन्तर्गत सिंहलाई आतंकवादी घोषणा गरेको हो।

केन्द्रीय गृह मन्त्रालयले जारी गरेको सूचनामा सिंहलाई पाकिस्तानी एजेन्सीहरूको समर्थनप्राप्त व्यक्ति भएको भनिएको छ।

धेरै हत्यामा संलग्न भएको भनिएका उनी कट्टरपन्थी विचारधारामा विश्वास राख्छन्।

कयौं राष्ट्रवादी नेताहरूलाई धम्कीपूर्ण कल गर्ने, फिरौती माग्ने र विभिन्न सामाजिक सञ्जालहरूमा ज्यान मार्ने धम्कीपूर्ण पोस्ट गरेको आरोप पनि उनीमाथि छ।

प्रतिबन्धित सङ्गठन बब्बर खालसा इन्टरनेशनलका सदस्य सिंह सीमापारबाट ड्रोनमार्फत धेरै आधुनिक हतियार, खरखजाना र विस्फोटक पदार्थको तस्करीमा समेत संलग्न छन्।

मुल रूपमा पञ्जाबको मुक्तसर साहिबका उनी अहिले क्यानडाको ब्राम्पटनमा बस्छन्।

गोल्डी ब्रार र उनका सहयोगीहरूले पञ्जाबको शान्ति र साम्प्रदायिक सद्भावलाई खलल पार्ने प्रयास गरिरहेको भारतको गृह मन्त्रालयले जनाएको छ।

इन्टरपोलले गोल्डी ब्रारविरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ भने उनीविरुद्ध गैर जमानती वारेन्ट पनि जारी गरेको छ।

ब्रारलाई लरेन्स बिश्नोईको गिरोहको एक महत्वपूर्ण सदस्य पनि मानिन्छ। उसले २९ मे २०२२ मा प्रसिद्ध गायक सिद्धु मूसेवालाको हत्याको जिम्मेवारी पनि लिएका थिए।

पुष १६, २०८० सोमबार २१:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।