सीके राउतले भने- मधेशी पार्टी त हो नि भनेर हामीलाई समातियो, सरकार रंगभेदी छ

सीके राउतले भने- मधेशी पार्टी त हो नि भनेर हामीलाई समातियो, सरकार रंगभेदी छ

काठमाडौं : प्रहरी हिरासतबाट छुटेपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले मधेशीहरूलाई रंग विभेद गरेको बताएका छन्।

राउत आज बिहान माइतीघरमण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेका थिए।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरू कला परिषद्‌बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए।

सरकारले रंगभेदी विभेद गरेको भन्दै उनले यो कुरा संसद् र समितिमा प्रस्तावका रूपमा लैजाने बताए।

मधेशी मूलकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलाई पक्राउ गरेको उनको बुझाइ छ।

उनले मन्त्री र सांसदलाई जुनसुकै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला? भन्दै प्रश्न पनि गरे।

‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छौँ। यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउँदै आएको छ। नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रूपमा घोषित गरेको छ। जसको जे भेषभूषा हो, त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो,’ उनले भने।

उनले थपे, ‘यहाँ कतिसम्म विभेद छ भने कोही जे बोल्दा पनि पक्राउ नपर्ने, मधेस मूलकी महिला मन्त्री बन्दा प्रहरी र नेपाल सरकारको मानसिकता कस्तो छ भने जति बेला पनि समात्न पायो भनेर देखिन्छ। नभए कुनै राष्ट्रिय अध्यक्षलाई समातेर देखाउन् त, सकिँदैन नि। यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेशी पार्टी त हो नि भनेर समातियो।’

पुष १६, २०८० सोमबार १८:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।