बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्त र गृहमन्त्रीबिच चार बुँदे सहमति, ११जनालाई रोजगारदेखि शहिदसम्मको आश्वासन

बालकुमारी प्रदर्शनमा मारिएकाका आफन्त र गृहमन्त्रीबिच चार बुँदे सहमति, ११जनालाई रोजगारदेखि शहिदसम्मको आश्वासन

काठमाडौँ : बालकुमारी प्रदर्शनमा मारिएकाका परिवार/ आफन्त र गृहमन्त्री नारायणकाजी श्रेष्ठबिच मारिएकाको परिवारको माग अनुसार ११ जनालाई रोजगारी, थप क्षतिपूर्ति त शहिद घोषणासहितको चार बुँदे सहमति भएको छ।

गृह मन्त्रालयमा भएको छलफलमा मृतकका परिवारलाई, परिवारका सदस्यहरूसँगको सल्लाहमा ११ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने,सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतक वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि आवश्यक कारबाहीका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने र मृतकका परिवारले सोमबार नै शव बुझेर सम्बन्धित जिल्लामा पुर्याउने प्रबन्ध गृहले मिलाउने सहमति भएको हो।

सरकारले छानबिन समिति गठन गरेर केहीलाई निलम्बन गरे पनि मृतकका परिवारले शव उठाउन मानेका थिएनन्।
सोमबारको मन्त्रीपरिषद् बैठकले घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेपछि पीडित परिवार र गृहमन्त्री श्रेष्ठबिच छलफलको वातावरण बनेको हो।

मन्त्री श्रेष्ठले राज्य व्यवस्था समितिको बैठकमा सोमबार  उच्चस्तरीय समितिको सुझाव तथा प्रतिवेदनबमोजिम दोषीलाई कारबाही गरिने प्रतिबद्धता जनाएका थिए।
सोमबार मृतकहरूको गृह जिल्ला दैलेख र अछामका तथा आसपास जिल्लाका  सांसद एवम् जनप्रतिनिधिसहित गृह मन्त्रालयमा आफन्तसहित छलफल भएको हो।

मृतकका परिवारका तर्फबाट अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहबर बसेका छन्।

पुष १६, २०८० सोमबार १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।