सक्किगोनिका काकु भन्छन् : सन्तोष पन्तलाई भेट्न छ महिना धाएँ, काकु बन्दा सुरूसुरूमा गाली खाएर हैरान
हास्य टेलिश्रृंखला ‘सक्किगोनि’का चर्चित कलाकार हुन् दीपक आचार्य (काकु)।
हिजो आजका कुरा, मेरी बास्सै, भद्रगोल हुँदै उनी अहिले सक्किगोनिमा आबद्ध छन्। ‘मेरी बास्सै’मा दीपक मास्टर र बाङ्गे बा भनेका उनी भद्रगोलमा ‘काकु’ को भूमिकामा देखिए। अनि त्यहि भूमिकालाई सक्किगोनिमा पनि निरन्तरता दिए।
दीपक कलाकार मात्र हैनन्, निर्देशक पनि हुन्। उनले म्युजिक भिडियो र विभिन्न सन्देशमुलक टेलिचलचित्रहरू निर्देशन गर्दै आएका छन्। काकु भनेर चिनिन उनको दुई दशक लामो मिहिनेत अनि संघर्ष छ।
कलाकार बन्नकै लागि धनकुटाबाट भागेर काठमाडौं आएका उनलाई सन्तोष पन्तसँग भेट्नु थियो अनि उनीद्वारा निर्देशित टेलिश्रृंखला ‘हिजो आजका कुरा’मा अभिनय गर्नु थियो।
तर, काठमाडौं उनले सोचेजस्तो कहाँ थियो र! काठमाडौं आउनेबित्तिकै सन्तोष पन्तलाई भेट्न खोजे पनि सकेनन् उनले। त्यसबीचमा उनले कयौं रात सडकमा बिताए भने साइकलमा चुरोट बेच्नसमेत हिँडे।
करिब छ महिनापछि उनले बल्ल सन्तोष पन्तलाई भेट्न पाए। अभिनयका लागि उनी बसुन्धरास्थित सन्तोष पन्तको घर अगाडिको भीडमा मिसिन जान्थे। त्यहाँ दैनिक एकदेखि डेढ सयसम्म मानिस हुन्थे हिजो आजका कुरामा अभिनयको पर्खाइमा बसेका।
तर, कहिल्यै उनले गतिलो र अनुहार चिनिने भूमिका पाएनन्। बुवाको सपना छोरो पढेर कुनै जागिर खाओस् भन्ने थियो। तर, उनमा कलाकारिताको भूत सवार भइसकेको थियो। बुवालाई उनले म राम्रो कलाकार बनेको देखाउँछु भन्ने लागेका उनले देखाउनै पाएनन्। उनी चिनिने कलाकार हुँदा बुवाले प्राण त्यागिसकेका थिए।
कलाकार दीपक आचार्यसँग उनका व्यक्तिगत र कलाकारिता जीवनको विषयमा उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादित अंश:
कसरी बित्छन् दिनचर्या?
मेरो दिनचर्या खासै नौलो केही छैन। सक्किगोनि सिरियलका लागि दुई दिन सुटिङ, दुई दिन लेखन अनि इडिटिङमा भेला हुँदा पाँच दिन त्यतै समय बितिहाल्यो। बाँकी समय घर परिवार र कहिलेकाँही गीतको भिडियो सुटिङमा नै बितिरहेको छ। यो भन्दा बाहेक अरू केही छैन।
सिरियल र म्युजिक भिडियोमा लेखन र निर्देशन गरिरहनुभएको छ, समय कसरी मिलाउनुहुन्छ?
एउटै फिल्ड भएको हुनाले खासै धेरै समय सोच्नु पर्दैन। सिरियलमा पनि त्यही कथा लेखन अभिनयको कुरा हो। भिडियोको कन्सेप्टहरूको लागि अफिसियल टाइम भन्ने हुँदैन। कहिलेकाँही सुतेको बेला १२ बजेतिर पनि कन्सेप्ट बनाइरहेको हुन्छु। किनभने भने त्यति बेला कन्सेप्टहरू पनि फुर्छ नि त। त्यति बेला फुरेको कन्सेप्ट मोबाइलमा टाइप गर्छु। त्यस कारण खासै गाह्रो हुँदैन।
तपाईं जति नै चर्चित भए पनि काकुको गेटअप भन्दा बाहेक अरूमा दर्शकले त्यति चिन्दैनन् नि है?
हो। मेरो यो गेटअपमा अन्तवार्ताहरू हेर्नुभएको छ, अथवा फेसबुकमा हेर्नुभएको छ भने चिन्नुहुन्छ। नत्र सिरियलबाट मात्रैले हो भने मलाई चिन्नुहुन्न।
खासमा बुढ्यौली भूमिका नै किन मनपर्यो?
त्यो पनि एउटा संयोग नै हो। मैले मेरी बास्सै छाडेपछि ५/६ महिना खाली नै बसेँ। त्सपछि अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)जीले मलाई फोन गर्नुभयो। उहाँहरूले खासमा मलाई ‘फनफनी’ बनाउन लागेको स्क्रिप्टमा बसौँ भनेर बोलाउनुभएको थियो।
त्यहि छलफलबाट ‘भद्रगोल’मा पनि सहकार्य भयो। पछि भद्रगोलको स्क्रिप्टमा पनि सहयोग गर्न थालेँ। स्क्रिप्टमा रक्षाको काको रोल निस्कियो अनि बुढो हुनुपर्यो।
त्यसअघि पनि मैले मेरी बास्सैमा ‘बाङ्गे बा’ भनेर गरेको थिएँ। त्यहि भूमिकालाई अलि मोडिफाइ गरियो। बाङ्गा बाङ्गा कुरा गर्ने अनि एकदमै कडा स्वभावको।
रक्षाका लागि कठोर स्वभावको भइसकेपछि जिग्रीलाई पनि रक्षाको नजिक हुन दिँदैन। त्यसले कथा अगाडि बढाउन सहज हुन्छ भनेर क्यारेक्टर परिकल्पना भइसकेपछि एउटा बुढो क्यारेक्टर जन्मिएको हो।
मेरी बास्सैमा माग्नेबुढो, सक्किगोनिमा पाँडेले बुढोकै रोल गर्नुभएको थियो। फेरि सक्किगोनिमा तपाईंले पनि बुढोपाका मान्छेकै रोल गर्नुभयो। बुढैबुढाको रोल नेपालमा रुचाउँछन् भन्ने लोभ त हैन?
अलिअलि त हो। हैन किन भन्नु र! मलाई दर्शकले चिन्नुभएकै यही रोलबाट हो। यद्यपि बुढाकै क्यारेक्टर रूचाउने भन्ने कुरामा चैँ सहमत छैन म। जिग्री, बले, कक्रोजको भूमिकालाई पनि दर्शकले रुचाउनुभएकै छ नि!
उनीहरू त युवा अवस्थामा नै छन् नि? त्यो भूमिका त उनीहरूका लागि ठिकै छ, तपाईंलाई त युवा अवस्थामा नै बुढो देखियो क्या! त्यहाँनेर बुढौलीपन आयो भन्न खोजेको।
त्यो पनि हो। तर, एक खाल्को आनन्द पनि आउँछ। आफू जे हो त्यो भन्दा फरक भूमिका निर्वाह गर्न पाउँदा। म त्यसमा भविष्य देखिरहेको हुन्छु। अहिले जुन क्यारेक्टर मेरो छ, त्यस्तै त्यस्तै हुनुहुन्थ्यो, मेरो बुवा। मैले सुरूमा काकु बन्दा लगाएको ड्रेस पनि बुवाकै हो। अनि त्यसमा इन्जोय पनि गर्छु।
तपाईंले मेरी बास्सैमा बाङ्गे बा भएर खेल्दा अलि नसुहाउँदो देखिएको थियो, फेरि किन त्यस्तै रोल गर्नुभयो?
दीपक मास्टर भएर धेरै एपिसोड गरे ‘मेरी बास्सै’मा। त्यसमा म जे हुँ त्यहि देखाइएको थियो। धेरै एपिसोडमा मुख्य कथामा पर्दा पनि दर्शकहरूले नोटिस गरेनन्। कता-कता हराएको जस्तो लाग्यो।
केही फरक नगरेसम्म दर्शकले नोटिस गर्दैनन् भन्ने बुझेर नै अलिक बाङ्गा कुरा गर्ने पात्र बनाइयो। सितारामजी (सिताराम कट्टेल धुर्मुस)सँग कुरा गरेँ। उहाँले हुन्छ भन्नुभो अनि सुटिङ थालियो।
सुरूसुरूमा यति धैरै गाली आयो कि कुरा नगर्नुस्। तर समयसँगै त्यहि चिज दर्शकहरूले मन पराउन थाल्नुभयो। हुन त समयसँगै क्यारेक्टरमा निखार आउँदै गएर पनि होला।
यही काकुको क्यारेक्टर गर्दा पनि भद्रगोलमा गाली आएको थियो। पछि रुचाउनुभो। कलाकार भएपछि दर्शकको गाली र ताली चैँ पचाउन सक्नुपर्ने रैछ।
तपाईंको जवान अवस्थाको क्यारेक्टर कहिले दर्शकले हेर्न पाउनुहुन्छ?
म पनि अहिलेसम्म रहस्यकै गर्वमा छु क्या! कहिले हेर्न पाउने भन्ने। अब हाम्रो फिल्मको स्क्रिप्टहरू फाइनल भइसकेपछि कास्टिङमा को-को फिट हुन्छ, कुन-कुन क्यारेक्टरमा काम गर्न सकिन्छ। त्यो अहिले कुनै पनि निर्धारण भइसकेको छैन। त्यसका लागि दर्शकहरूले केही समय कुर्नु होला।
मेरी बास्सै, भद्रगोल, सक्किगोनि सम्म आइपुग्दाका तपाईंका संघर्षको दिनहरू कस्ता थिए?
तपाईंहरूले मलाई मेरी बास्सै बाट चिन्नुभयो। तर मेरो संघर्षका दिन भनेको हिजो आजका कुराबाट हो। त्यो बेलाको संघर्ष, त्यो बेलाको समय सम्झिँदा अहिले कथाहरू जस्तो लाग्छ।किनभने अहिले प्रविधिले मान्छेलाई यति सहज बनाइदियो कि, यो प्रविधिले सहज बनाए सँगसँगै अप्ठ्यारा, चुनौतीहरू पनि उतिकै थपिँदै गए।
मलाई धनकुटाबाट कलाकार बन्ने भूतले अथवा लेखक बन्ने भूतले चाहिँ घर छोडेर काठमाडौं आउँदाको टार्गेट भनेको ‘हिजो आजको कुरा’मा खेल्ने मात्र हुन्थ्यो। हिजो आजको कुरा बाहेक प्लेटफर्म अरू केही पनि थिएन। धनकुटाबाट ठ्याक्कै सन्तोष पन्तलाई भेट्छु भनेर आएको मान्छे म। उहाँलाई भेट्नका लागि मात्रै मैले छ महिना संघर्ष गर्नुपरेको थियो।
कहाँ धाउनुभयो?
उहाँको घरमै।
घर यहाँ छ भन्ने कुरो कसरी थाहा पाउनुभयो?
संयोगले म बसुन्धरामा आइपुगेँ। मलाई थाहा थिएन, उहाँको घर बसुन्धरामा छ भन्ने कुरा। बसुन्धरा पुगेपछि साथीहरू चिन्दै जाँदा त्यहाँ माथि एउटा नेचर क्लब छेउमा सन्तोष पन्तको घर छ भन्ने कुरा थाहा पाइसके पछि मलाई झन सजिलो भयो।
अनि घर पत्ता लगाउनलाई नै मलाई २/३ दिन धाएँ। अनि ए यो रहेछ भन्ने कुरा रेकी गरेर आएको। त्यसपछि कहिले आउनुहुन्छ र मैले भेट्छु भन्ने मलाई केही पनि थाहा थिएन। धाउँदा धाउँदा गरिसके पछि यो बेला आउनुहुन्छ भन्ने कुरा पत्ता लगाएँ। अनि उहाँको नम्बर पाएँ। कल गरेँ तर कहिल्यै उहाँ नभेटिने।
अनि सोमबार कलाकार छानिन्छ भन्ने कुरा थाहा भयो। अनि त्यही दिन नेचर क्लब छेउमा गइयो। त्यहाँ जाँदा धेरै भीड थियो। एनटिभीबाट क्यामेराहरू लिएर आउनु हुँदो रहेछ। अगाडि नै कलाकार बन्नेहरूको भीड हुन्थ्यो। त्यही भिडमा म पनि पुगेँ।
कति जति हुन्थे, कलाकार बन्नेको भीडमा?
लगभग डेढ समय जतिको हुनुहुन्थ्यो होला।
त्यो सम्झिँदा अहिले कस्तो लाग्छ?
अहिले त दीपकराज गिरीसँग कुरा गर्छु भन्दा तुरुन्तै भेट्न सकिन्छ। सोसल साइटबाट हुन्छ कि अन्य कुनै प्रविधिबाट। यति सजिलो भएको छ नि! त्यो समय सम्झिँदा अहिले बडो अचम्म लाग्छ।
अहिले नयाँ पुस्तामा यो प्रविधिले निम्त्याएको समस्या के भने उनीहरूमा धैर्यता भन्ने छैन। मैले त्यसरी एउटा डाइरेक्टरलाई भेट्नका लागि ६ महिना धाउनुपर्यो भने अहिले ६ महिना धाएर कसैले पनि भेट्दैन होला।
एक दुई चोटि म्यासेज गर्छ, ट्राइ गर्छ त्यसपछि रिप्लाई आएन भने छाडिदिन्छ। अनि अर्को तिर लाग्छ।
अहिले प्लेटफर्म धेरै भएर पनि हो कि?
अहिले मान्छेलाई यति धेरै सहज भयो कि मोफसलमा बसेर पनि राम्रो राम्रो भिडियोहरू निर्माण गर्नुभएको हुन्छ। त्यो बेलाको कुरा अहिले सम्झने हो भने यो हाम्रो कल्पना भन्दा बाहिरको कुरा भयो।
पुष १६, २०८० सोमबार १७:४०:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।