‘आठौँ रियल स्टेट एक्स्पो’ मेलामा ३ अर्ब माथिको कारोबार, समग्रमा कस्तो रह्यो?
काठमाडौं : पुस १२ गते देखि १५ गतेसम्म सञ्चालन भएको घरजग्गा सम्बन्धी मेला सम्पन्न भएको छ।
लामो समय आन्तरिक आर्थिक अवस्थामा संकुचन आएको कारण सरकारले घरजग्गा कित्ताकाटमा रोक लाएपछि घरजग्गा व्यवसाय ओरालो लागेको थियो। पछि कित्ताकाट खुले पनि घरजग्गा व्यवसायीमा उल्लेख्य प्रगति नभएपछि नेपाल घरजग्गा आवास तथा आवास विकास संघले भृकुटीमण्डपमा ‘आठौँ रियल स्टेट एक्स्पो’ मेला सञ्चालन गरेको थियो।
सरकारले घरजग्गामा लगाएको रोकलाई श्रावण ३१ गते मन्त्रिपरिषद बैठकबाट भू-उपयोग नियमावलीको पहिलो संशोधन, २०८० पारित गरेसँगै जग्गाको कित्ताकाट पूर्ण रूपमा खुले पनि घरजग्गा व्यवसाय भने सुस्त देखिएको कारण ‘आठौँ रियल स्टेट एक्स्पो’ सञ्चालन गरिएको आयोजकले बताएको छ।
मेला आयोजनामा ६० स्टलहरू राखिएको थियो। मेलामा देशभरका विभिन्न क्षेत्रमा रहेको घरजग्गा सुपथ मूल्यको साथै साट-फेरको समेत व्यवस्था गरिएको थियो।
मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, फर्निचर, पाइप, पेन्टस्, सवारी साधन तथा बैंकिङ्ग जस्ता व्यवसायमा संलग्न व्यवसायीहरूले आ–आफ्ना उत्पादनहरू प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत प्राप्त गरेका थिए।
मेला अवधिभर मात्रै अफर
मेला आयोजनामा सहभागी विभिन्न कम्पनीहरूले आकर्षक अफरको व्यवस्था गरेको थिए। जसमा घरजग्गा बुकिङ्ग गर्ने, ग्राहकको लागि जग्गासँग घर साट्न मिल्ने देखी ५० लाख नगद छुटसम्मको व्यवस्था थियो।
त्यस्तै, घरजग्गा खरिद गर्दा २५ प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी रकम तिर्नको लागि १ बर्ष सम्मको समय सीमा राखिएको छ।
आयोजक रियलस्टेट म्यानेजमेन्ट लिमिटेडले भैसेपाटी वा चाँगुनारायणमा रहेको घरजग्गा एक्सचेन्जको अफर समेत ल्याएको थियो। यो कम्पनीको घरजग्गा खरिदमा ११ प्रतिशतसम्मको ब्याजदरमा हाउजिङ लोन पाइने गरी प्राइम बैंक, नबिल बैँकसँग सम्झौता भए अनुरूप बैंकले उपलब्ध गराउने कर्जाको ब्याजदर स्थिर थियो।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाका अनुसार विभिन्न रियल स्टेट कम्पनीहरूले दिएको अफर मेला अवधिभर मात्रै रहेको उकेरालाई बताए।
‘हामीले यस्तो अफर मेला अवधिभर मात्रै राखेका थियौँ। त्यसमा विभिन्न कम्पनीहरूको तर्फबाट छुट्टा-छुट्टै अफरहरू थियो। तर मेला अवधिभन्दा अरू समयमा अफरको व्यवस्था छैन। अब कोही घरजग्गा खरिद गर्न आउँछन् भने उनीहरूलाई कुनै प्रकारको छुट वा मेलामा दिएको छुट अफरको व्यवस्था छैन’ उनले भने।
४० हजार भन्दा बढीले गरे मेला अवलोकन नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष धमलाले मेलाका सहभागी तथा अवलोकनकर्ताको बाक्लो उपस्थिति भएको बताए।
उनले अवलोकनकर्ताको उपस्थिति आयोजकले अपेक्षा गरे अनुरूप भएको बताए।
‘मेलामा हामीले सोचेअनुसारको भन्दा पनि बढी सहभागिता भएको थियो। इन्ट्री कार्डको व्यवस्था गरेका थियौँ। सोको आधारमा हेर्ने हो भने पनि करिब ४० हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति थियो। यसरी अवलोकनकर्ताको हौसलाले नै आगामी दिनमा मेला आयोजना गर्न थप हौसला दिएको छ।’ उनले भने।
३ अर्ब माथिको कारोबार
आयोजकका अनुसार कारोबार रकम ३ अर्बभन्दा माथि भएको छ।
आयोजनामा सहभागी कम्पनीहरूमा घरजग्गा खरिद प्रतिवद्धता तथा डाउनपेमेन्टको हिसाबले ३ अर्बमाथिको कारोबार भएको आयोजनले जानकारी दिएको छ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष धमलाकाले भने, ‘हामीले विभिन्न कम्पनीको के कति कारोबार भयो वा कतिको पेमेन्ट भयो भन्ने बारेमा जानकारी लिएका थियौँ। हाम्रो अकाउन्टमा आजसम्म ३ अर्ब भन्दा बढीको कारोबार भएको छ।’
पुष १६, २०८० सोमबार १५:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।