चित्रबहादुर केसीको प्रश्न- हामीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ?

चित्रबहादुर केसीको प्रश्न- हामीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई के दियौँ?
फाइल फोटो

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याएर जनतालाई हामीले के दियौँ भन्ने बारेमा समीक्षा गर्ने बेला भएको बताएका छन्।

बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको विषयलाई लिएर उनले आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गरे।

उनले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्य विरुद्ध आक्रोशमा आउनु ठूलो घटना भएको बताए।

उनले भने, ‘जुन घटना भएको छ, यसलाई हामीले फुटकर रूपमा लिएर छलफल गरिरहेका छौँ। मूल कुरा के हो भने हामीले गणतन्त्र, लोकतन्त्र ल्यायौँ, देशलाई औद्योगीकरण गर्न सकेनौँ। त्यस कारणले रोजगारीका लागि लाखौँ लाख नेपाली युवाहरू विदेश जानुपर्यो। यहाँनेर कुन चाहिँ अफिसिरले, कुन चाहिँ मन्त्रीले गल्ती गर्यो भन्दा पनि हामीले जुन लोकतन्त्र र गणतन्त्र ल्यायौँ। नेपाली जनताले ठूलो आशा गरेका थिए। अब अहिले विदेशमा नोकरी गर्न जान पाइएन भनेर ३० हजार बढी युवाहरू राज्यका विरुद्ध आक्रोशमा आउनु यो ठूलो घटना हो।'

पुष १६, २०८० सोमबार १३:३९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।