गोली चलेको एकीन भएन, मन्त्रीको गाडीमा १२ बजेर २० मिनेटमा आगजनी भएको हो : प्रहरी प्रमुख

गोली चलेको एकीन भएन, मन्त्रीको गाडीमा १२ बजेर २० मिनेटमा आगजनी भएको हो : प्रहरी प्रमुख

काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बालकुमारीमा गोली चलेको ठ्याक्कै समय थाहा नभएको बताएका छन्।

सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारस्थित संसद् सचिवालय भएको छलफलमा गत पुस १३ गते बालकुमारीमा भएको घटनाबारे जानकारी दिँदै प्रहरी प्रमुख कुँवरले गोली चलेको यकिन नभए पनि १२:२० मा मन्त्रीको गाडीमा आगजनी भएको बताए।

कुँवरले बालकुमारीमा मन्त्री सवार नभएको भए दु:खद् घटना नघट्ने बताएका छन्। उनले मन्त्री त्यहाँ जाँदा स्थिति असामान्य बन्न पुगेको बताए।

महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय भएन। भिडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद भयो।’

प्रदर्शनकारी माथि १२४ सेल अश्रुग्यास, रबर बुलेट र हवाइ फायर गरिएको उनले बताए। प्रहरी र पीएसओबीच सञ्चार समन्वय नभएकाले घटना भएको र धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए।

गत शुक्रबार बालकुमारीमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा २ जना युवाको मृत्यु भएको थियो।

पुष १६, २०८० सोमबार ११:४२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।