शिवराजको हत्यामा प्रयोग गरिएको बन्दुक र गोली प्रहरीले पार्यो फेला

शिवराजको हत्यामा प्रयोग गरिएको बन्दुक र गोली प्रहरीले पार्यो फेला

काठमाडौं : दाङको बंगलाचुलीस्थित कोइला खानीको सुरूङभित्र मृत भेटिएका व्यक्तिको गोली हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघराका ४५ वर्षीय शिवराज केसीको शव शुक्रबार बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी जंगलको कोइला खानीमा ५० मिटर गहिरो सुरूङभित्र भेटिएको थियो।

छातीमा भरूवा बन्दुक लागेको लागेको अवस्थामा शिवराजको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले बताए।

उनले छातीमा गोली लागेको घाउ रहेकाले पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी रहेको एसपी केसीले जानकारी दिए । शिवराजको हत्यामा संलग्न रहेको आशंकाका बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीय श्रीमती दीपा कुँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ।

उनीहरू घटनापछि नयाँ दिल्ली पुगेको र भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

शिवराजको हत्याको कारण अनैतिक सम्बन्धजस्तो देखिएको र सोही कुरालाई बहाना बनाएर सुरूङमा लगेर हत्या गरेको जस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी केसीले बताए।

पक्राउ परेका अभियुक्तहरूको बयानको आधारमा व्यक्ति हत्यामा प्रयोग गरिएको बन्दुक र त्यसमा लाग्ने गोलीका खोका प्रहरीले बरामद गरिसकेको छ।

घटना बारे विस्तृत रूपमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। शेरबहादुरले आफू एक्लैले शिवराजको हत्या गरेको बयान दिएको दाबी गरे पनि यो घटनामा क-कसको संलग्नता छ भन्ने गहिरो अनुसन्धान भइरहेको एसपी केसीको भनाई छ।

शेरबहादुर रोजगारीका लागि भारत जाने गरेको र त्यही बीचमा दीपासँग सम्बन्ध स्थापित भएको जस्तो देखिएको प्रहरी अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताए।

घोराही ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका शिवराज पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए। उनी सम्पर्कविहीन भएपछि खोजी सुरू गरिएको थियो। उनको मोबाइलको अन्तिम लोकेसन बंगलाचुली क्षेत्रमा देखाएपछि प्रहरीले बंगलाचुली क्षेत्रमा खोजीलाई केन्द्रित गरेको थियो।

स्थानीयको सहयोगमा शिवराजको शव कोइराला खानीको सुरूङभित्र फेला परेको थियो।

पुष १६, २०८० सोमबार ११:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।