बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणाकाे माग गर्दै दुई जिल्लामा आन्दोलन

बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवालाई सहिद घोषणाकाे माग गर्दै दुई जिल्लामा आन्दोलन

सुर्खेत : ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका युवालाई सहिद घोषणा गर्न माग गर्दै सुर्खेत र दैलेखका युवाहरू सडकमा उत्रिएका छन्।

आज सुर्खेत र दैलेखमा ८ बुँदे माग राखेर पीडित परिवारका आफन्त र समर्थकहरूले आन्दोलन गरेका हुन्।

हिजो र आज पीडितका आफन्तहरूले वीरेन्द्रनगरकाे यरिचाेकमा एक घण्टा सडक अवरुद्ध गरेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

‘केही घण्टा पीडित परिवारले बजारकाे सडकमा अवरुद्ध गरेका थिए। त्यसका सुरक्षाका लागि प्रहरीले उच्च सतर्कता अपनाइएको थियाे’, डीएसपी शाहीले भने, ‘आन्दोलन शान्तिपूर्ण नै भयाे।’

पीडित परिवारले आफूहरूको माग पूरा नभएसम्म शव नबुझ्ने र आन्दोलन गरिरहने बताएका छन्।

हिजो वीरेन्द्रनगरका एरीचोक, विरेन्द्रचोक, मंगलगढी चोक र दैलेखको सदरमुकाममा प्रदर्शन गरेका युवाहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्।

दैलेखको महाबु गाउँपालिका- ६ का २१ वर्षीय सुजन रावतका आफन्तहरूले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्।

प्रधानमन्त्रीलाई दिएको ८ बुँदे माग पुरा नभएसम्म आन्दोलन गरिरहने सुजनका काका कृष्ण राउतले बताए।

मृतकका परिवारलाई क्षतिपूर्तिसँगै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने उनको माग छ। परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिई छानबिन समितिले निष्पक्ष छानबिन गर्नुपर्ने रावतकाे भनाइ छ।

पुष १५, २०८० आइतबार १७:१०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।