कालिकोटमा वडा अध्यक्षमाथिनै जातीय विभेद, फेसबुकमार्फत जातीय गालीगलौज गर्ने व्यक्ति पक्राउ

कालिकोटमा वडा अध्यक्षमाथिनै जातीय विभेद, फेसबुकमार्फत जातीय गालीगलौज गर्ने व्यक्ति पक्राउ

काठमाडौं : कालिकोटको पचालझरना गाउँपालिका–२ का वडा अध्यक्ष करबीरे विश्वकर्मा माथि जातीय विभेद गरेको आरोपमा स्थानीय एक जना पक्राउ परेका छन्।

प्रहरीले सोही गाउँपालिका–१ का ४४ वर्षीय गोकुल बोगटीलाई हिजो पक्राउ गरेको जनाएको छ।

स्वास्थ्य चौकीको विषयलाई लिएर बदालकोट स्वास्थ्य चौकीका कार्यालय सहयोगी समेत रहेका बोगटीले सामाजिक सञ्जाल फेसबुक र मोबाइल मार्फत वडा अध्यक्ष विश्वकर्मालाई जातीय विभेद गरेको भन्दै पीडित विश्वकर्माले पुस १२ गते प्रहरीमा उजुरी दिएका थिए।

उजुरीपछि प्रहरीले बोगटीलाई घरबाटै पक्राउ गरेको कालिकोटका प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए।

उनका अनुसार कार्यालय सहयोगी बोगटीले फेसबुक स्ट्याटसको कमेन्टमा गाली गरेको र फोन कलमा घरमा बम पड्काउने र मार्ने समेत धम्की दिएको रेकर्डसहित पीडितको उजुरी आएपछि प्रहरीले घटनाकाे अनुसन्धानका लागि आरोपिलाई पक्राउ गरेको हो।

पीडित वडाअध्यक्ष विश्वकर्माले आफूमाथि भेदभाव भएको भन्दै जातीय छुवाछुत तथा भेदभाव सम्बन्धी कसुर सजाए ऐन २०६८ र संशोधित २०७५ अनुसार कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका थिए।

नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको मौलिक हकमा जातीय भेदभाव विरुद्ध दण्डनीय व्यवस्था गरेको छ। जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि ३ वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

जनप्रतिनिधि माथि नै जातीय विभेद भएको भन्दै कालिकोटका दलित अधिकारकर्मी, मानव अधिकारकर्मीले चर्को विरोध जनाएका छन्।

पुष १५, २०८० आइतबार १६:५४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।