वनभोज खान गएको गाडी दुर्घटना : ३५ जना घाइते, चारको अवस्था गम्भीर
काठमाडौं : वनभोजका लागि बर्दियाबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
दाङको अमिलिया-तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुर–१३ दमारगाउँ वनको उकालोमा भे १ ख २०४१ नम्बरको बस आज बिहान दुर्घटनामा परेको थियो।
अहिलेसम्मको विवरण अनुसार दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते चार जनालाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने ३१ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले बताए।
४० जना सवार बस बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरको पिपरहवा कृषक समूहबाट दाङको दंगिशरण गाउँपालिका वडा नम्बर ३ मा रहेको चखौरा थारु संग्रहालयमा वनभोजका लागि आउँदै थियो।
बसको ब्रेकफेल भएर दुर्घटनामा परेको प्रहरीको पूर्वानुमान छ। बस सडकबाट खोल्सातर्फ नगएर नालातिर गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
पुष १५, २०८० आइतबार ११:१३:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।