सन्दीप नखेलेको प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुलिस १ सय रनले विजयी
काठमाडौं : नियमित कप्तान सन्दीप लामिछानेले नखेलेको प्रो क्लब च्याम्पियनसिपमा पर्सा ११ ले नेपाल पुलिस क्लबसँग लज्जास्पद हार व्यहोरेको छ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि शनिबार वीरगन्जको नारायणी रंगशालामा भएको फाइनल खेल उनले नखेलेका हुन्।
टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको थियो।
उसका लागि करण केसीले १७ बलमा अविजित ४० रन जोडे। अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ रन बनाउँदा कप्तान आरिफ शेखले १६ रन बनाए।
बलिङमा पर्सा ११ का सैफुल्लाह अन्सारी र पवन सर्राफले समान दुई–दुई विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पर्साले ४५ रनमा अलआउट भयाे। उसका लागि अनिल शाहले सर्वाधिक १३ रन बनाए। सन्दीप नहुँदा पर्साको कप्तानी सुरज पटेलले गरेका थिए।
६ टोली सहभागी प्रतियोगिता राउन्ड रोविनको आधारमा भएको थियो। सन्दीपको कप्तानीमा पर्साले सेमिफाइनलमा आर्मीलाई हराउँदै फाइनल खेलेको थियो।
पुष १४, २०८० शनिबार २२:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।