फाइनलमा धनगढी दोस्रोपटक असफल, ललितपुरलाई नेपाल सुपर लिगको उपाधि

फाइनलमा धनगढी दोस्रोपटक असफल, ललितपुरलाई नेपाल सुपर लिगको उपाधि

काठमाडौं : दुई पटकसम्म नेपाल सुपर लिगको फाइनल पुगेको धनगढी एफसीले दोस्रो संस्करणमा पनि असफल भएको छ।

शनिबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा धनगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुरले पहिलो पटक लिगको उपाधि उचाल्यो।

खेलको ३८औं मिनेटमा धनगढीका ओलावाले अफिजले धनगढीलाई अग्रता दिलाए। तर, केही समयपछि नै लतिलपुरले उत्कृष्ट पुनरागमन गर्दै गोल फर्कायो।

इन्ज्युरी समयमा ललितपुरका लागि पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गरे।

५०औं मिनेटमा दिनेश हेमजनले ललितपुरका लागि अग्रता दोब्बर बनाए भने ५८ औं मिनेटमा पनि इमोह इजेकेलले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे।

७९औं मिनेटमा धनगढी दश जनामा सीमित हुन पुग्यो। डिफेन्डर रिचार्डले इमोहमाथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए।

धनगढीका लागि इज्युरी समयमा अहमद हिजाजीले गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

जितसँगै ललितपुरले उपाधिसँगै नगद ७० लाख रुपैयाँ पाएको छ भने उपविजेतामा सीमित भएको धनगढी एफसीले २० लाखमा चित्त बुझायो।

पुष १४, २०८० शनिबार २०:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।