बालकुमारी घटनाका पीडितलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्न जसपाको माग

बालकुमारी घटनाका पीडितलाई क्षतिपूर्ति र घाइतेलाई उपचार गर्न जसपाको माग
फाइल फोटो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले बालकुमारी घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ।

जसपाले आज विज्ञप्ति जारी गर्दै शुक्रबार दुई जनाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘ईपीएस परीक्षामा आवेदन दिन नपाउने भनी कसले र किन निर्णय गरेको थियो? उक्त घटना कसरी घट्न गयो? उक्त घटनासँग जोडिएको समग्र विषयको सत्य, तथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न जसपा नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ।’

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फाराम भर्न नपाएको भन्दै असन्तुष्ट युवाको समूहले हिजो बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि प्रदर्शन गरेको थियो। त्यस क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली चलाउँदा दुई जनाको मृत्यु समेत भएको थियो। झडपअघि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो।

उक्त घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको हो।

यस्तै, जसपाले उक्त घटनाका पीडितलाई क्षतिपूर्ति मिलाउन र घाइतेको उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।

विज्ञप्ति :

पुष १४, २०८० शनिबार १७:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।