बाक्लो हुस्सुले सिमरा, जनकपुर, भरतपुर र भैरहवा विमानस्थलका हवाई उडान रद्द

बाक्लो हुस्सुले सिमरा, जनकपुर, भरतपुर र भैरहवा विमानस्थलका हवाई उडान रद्द
फाइल फोटो

काठमाडौं : प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ।

तराई क्षेत्रमा लागेको बाक्लो हुस्सुका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

बाक्लो हुस्सु, कुहिरोका कारण तराईका सिमरा, जनकपुर, भरतपुर र भैरहवा विमानस्थलका उडान रद्द भएका हुन्। यी विमानस्थलमा आज कुनै पनि उडान भएनन्।

यता, भैरहवा विमानस्थलमा भने हिजोदेखि नै कुनै पनि उडानहरू नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए। विशेष गरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ।

१४ पुस, २०८०, १५:१८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।