प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट : शतप्रतिशत जितसहित एपीएफ क्वालिफार्यसमा
काठमाडौं : प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिताको लिगचरणमा शतप्रतिशत जितसहित एपीएफ क्वालिफायर्समा पुगेको छ।
लिगको अन्तिम खेलमा बागमतीलाई ४७ रनले पराजित गर्दै एपीएफ सिधै क्वालिफार्यसमा पुगेको हो।
मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १२६ रन बनायो। १२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रनमा सीमित भएपछि एपीएफ ४७ रनले विजयी भएको हो।
बागमतीका लागि सोनी पाख्रिनले सर्वाधिक २० रन बनाइन्। यशु पाण्डेले १८ बलमा ३ चौकासहित १७ रन बनाइन्। खुसी डंगोल र संस्कृति फूयाँल क्रमशः १० र २ रनमा अविजित रहे। एपीएफका लागि सुमन विष्टले सर्वाधिक २ विकेट लिइन्।
सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता राना मगरले समान एक/एक विकेट लिइन्।
त्यसअघि ब्याटिङ गरेको एपीएफका लागि सीता राना मगर सर्वाधिक ४४ रन बनाइन्। उनले ५० बलमा ४ चौका हिर्काइन्। ज्योती पाण्डेले १३, इन्दु बर्माले २८ रन बनाइन् । रोमा थापा १९ रन र ममता चौधरी १२ रनमा अविजित रहे। बागमतीका लागि संस्कृति फूयाँल, मनिषा उपाध्याय र सविका यादवले एक/एक विकेट लिइन्।
एपीएफसँग पराजित भए पनि बागमती पनि प्लेअफ पुगिसकेको छ। एपीएफले ७ मा ७ जितसहित १४ अंकको साथमा शीर्ष स्थानमा छ भने बागमती ७ मध्ये ४ मा जित र तीनमा हार बेहोरेको छ।
पुष १४, २०८० शनिबार १४:३८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।