दक्षिण अफ्रिकाद्वारा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर, गाजामा नरसंहार गरेको आरोप

दक्षिण अफ्रिकाद्वारा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर, गाजामा नरसंहार गरेको आरोप

एजेन्सी : दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा मुद्दा दायर गरेको छ।

आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’अन्तर्गत इजरायलको दायित्वको कथित उल्लङ्घनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको छ।

तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ।

नेदरल्याण्डको ‘द हेग’मा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो।

यसले विभिन्न देशहरू बीचको विवादहरू समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा सल्लाह दिन्छ।

आईसीजेमा अपील दायर गरेपछि दक्षिण अफ्रिकाले गाजामा भइरहेकाे नरसंहार राेक्न आफ्नो देश बाध्य भएको विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गाजा पट्टीमा इजरायलले गरेको आक्रमण र त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती हटाइएपछि भएको नागरिकहरूको दुर्दशाबाट दक्षिण अफ्रिका चिन्तित छ।’

‘त्यसबाहेक, त्यहाँ मानवता विरुद्धको अपराध र युद्ध अपराध जस्ता अन्तर्राष्ट्रिय अपराधहरूका साथै नरसंहार भइरहेको रिपोर्टहरू पनि आएको छ’, विज्ञप्तिमा भनिएको छ।

आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता सुनुवाइ गर्न भनेको छ।

इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले दक्षिण अफ्रिकाको आरोपलाई ‘अदालतको घृणित र अपमानजनक शोषण’को संज्ञा दिएको छ।

पुष १४, २०८० शनिबार ११:१६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।