बालकुमारी घटना : मन्त्री बसेको गाडीमा आगो लाग्दा जाइलागे प्रहरी, पीएसओ र चालकले जोगाएका थिए ज्वालालाई

बालकुमारी घटना : मन्त्री बसेको गाडीमा आगो लाग्दा जाइलागे प्रहरी, पीएसओ र चालकले जोगाएका थिए ज्वालालाई

काठमाडौं : शुक्रबार दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरू आन्दोलनमा उत्रिए।

कोरियामा पानी जहाज बनाउने काम (शीप बिल्डिङ)को परीक्षामा सहभागी ३२ हजारमध्ये अनुत्तीर्ण भएका केही युवाहरू बिहीबारैदेखि शाखा बाहिर पुगेर आक्रोश पोखिरहेका थिए।

पुन: उत्पादनमुलक र कृषि क्षेत्रको भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने उनीहरूको माग थियो। केही रिट बोकेर उच्च अदालत पाटन गए।

अदालत गएका १८ जनाको हकमा परीक्षामा सहभागी गराउन आदेश पनि आयो। अदालत नगएकाहरूले पनि परीक्षामा सहभागी गराउन दबाब दिन केही युवाहरू शुक्रबार बिहानै बालकुमारीमा रहेको वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली शाखा (इपिएस)को कार्यालय अगाडि भेला भए।

बिहीबारदेखि नै त्यहाँ अनुत्तीर्ण युवाहरूले गतिविधि र हुलदङ्गा अनुगमन गरिरहेको प्रहरी प्रशासन चनाखो नहुने कुरै भएन। आसपास सुरक्षाकर्मी परिचालित नै थिए।

शुक्रबार कार्यालय खुलेदेखि नै नाराबाजी शुरू भयो। प्रहरीले उनीहरूलाई पेल्दैपेल्दै तितरवितर बनाउने प्रयास शुरू गर्यो। प्रदर्शनकारी संख्या थपिँदै दुई हजार हाराहारी जम्मा भए। उनीहरूले सवारीसाधन र प्रहरीमाथि ढुङ्गा हान्न थालेपछि प्रहरीले तितरवितर गर्न लाठी प्रहार गर्यो।

त्यतिले मात्र नसक्ने भएपछि टियर ग्याँस नै हान्यो। प्रदर्शनकारीमध्ये कोही सातदोबाटोतिर लागे भने केही बालकुमारी करिडोरतिर कुदे। सवारीसाधन ठप्प भइसकेको थियो। त्यही बेलामा बा २ झ ५८६१ नम्बरको सरकारी गाडी बालकुमारी करिडोरतिरबाट निस्कियो।

सरकारी गाडी देखेपछि प्रदर्शनकारीहरू जोसिए अनि अगाडि उभिएर गाडी रोके। केहीले हावाको टायर फुस्काउ थाले। गाडी नजिक प्रदर्शनकारीहरूको भीड बढ्न थाल्यो।

गाडी जलाउन लागेपछि भित्रबाट तीन जना निस्किए। चालक अनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला। उनका पीएसओ थिए गाडीमा। पीएसओ र चालकले मन्त्रीलाई गाडीबाट निकालेर सुरक्षित स्थानतिर लगे। यता गाडीमा आगो लाग्यो अनि ह्वारह्वार बल्यो।

त्यो बेलासम्म सशस्त्र प्रहरी पनि थपिइसकेको थियो। मन्त्रीको गाडीमा आगो लागेको देखेपछि दुवै सुरक्षा संगठन प्रदर्शनकारीमाथि जाइलागे। उनीहरूले गोली चलाए। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले ‘मन्त्रीलाई रेस्क्यू’ गरेको बताए।

मन्त्रीको गाडीमा आगो लागेर मन्त्रीलाई ‘रेस्क्यू’ गरेपछि प्रहरीले पुन: प्रदर्शनकारीहरूलाई तितरवितर बनायो। १७ जना पक्राउ परे। दुई जना घाइते भए। घाइते सुजन राउत र वीरेन्द्र साहको मृत्यु भयो।

प्रदर्शनकारीमाथि गोली चलाएर मृत्यु भएको भन्दै गृह प्रशासनको आलोचना भयो। अधिक बल प्रयोग गरिएको भन्दै विभिन्न दलका नेताले सरकारको विरोध गरे। तत्काल गृहले उपत्यका प्रहरी कार्यालय काठमाडौंको डीआईजी लालमणि आचार्यको नेतृत्वमा छानविन समिति गठन गर्यो।

मन्त्रीको गाडीले निम्त्याएको संकट
बालकुमारीमा दुई जनाको ज्यान जानेगरी भएको घटनाको कारक मन्त्री ज्वालाको गाडी प्रदर्शनस्थलमा पुग्नु देखियो।

मन्त्री ज्वालाले गाडीमा आगो लाग्दा आफू नभएको दाबी गरे। तर, विभिन्न सुरक्षा स्रोतसँगको कुराकानीमा मन्त्री गाडीभित्रै रहेको पुष्टि भयो। प्रहरी प्रवक्ता कडायतले उकेरासँग मन्त्री ज्वालाको रेस्क्यु गरिएको बताएका छन्।

मन्त्री गाडीभित्रै भएको अवस्थामा गाडी रोकियो। गाडीमा आगो लाग्दा सुरक्षाकर्मीले हतियारसहित बल प्रयोग गरेको देखियो। मन्त्रीलाई पीएसओले गाडिबाट बाहिर निकालिसकेका थिए।

मन्त्री गाडीमा छन् या निस्किए भन्ने प्रदर्शनस्थलमा रहेका प्रहरीले भेउ पाएनन्। दनादन हवाइफायर भयो। भागदौड शुरू भयो। दुई युवाको ज्यान गयो।

बल प्रयोग प्रणालीमा प्रश्न
कतै प्रदर्शनमा बल प्रयोग गर्न परे त्यसको विधि प्रस्ट छ। पहिला प्रदर्शनको नेतृत्वसँग छलफल गर्ने। बालकुमारीमा भएको प्रदर्शन स्वतस्फुर्त थियो। नेतृत्व थिएन।

दोस्रोमा माइकिङ गरेर चेतावनी दिने। प्रदर्शनस्थलमा माइक बोकेका प्रहरी देखिन्थे। तर, माइकिङ गरे/नगरेको एकीन भएन। त्यसबाट पनि प्रदर्शन नरोकिए, पानीको फोहरा हान्ने। शुक्रबार पानी प्रयोग भएको देखिएन।

त्यसपछि चेतावनी दिएर कम्मरमुनि लाठी प्रहार गर्ने। लाठी प्रहारबाट पनि प्रदर्शन नियन्त्रणमा नआए टियर ग्याँस, हवाई फायर गर्ने सिलसिलेवार पद्धति हो। हवाई फायरबाट पनि प्रदर्शन नरोकिए घुँडामुनि गोली हान्न पाउनेसम्मको विधि छ।

शुक्रबारको प्रदर्शनमा यी सबै विधि अपनाइयो त?
काठमाडौं उपत्यका कार्यालयका प्रमुख एआईजी दीपक थापा नियम अनुसार सबै विधि प्रयोग भएको दाबी गर्छन्।

‘प्रदर्शन नियन्त्रणमा अपनाउनुपर्ने माइकिङदेखि सबै प्रक्रिया अपनाइएको छ। चरणबद्ध प्रयास असफल भएपछि हवाइ फायर भएको हो’, उनले उकेरासँग भने।

तर, प्रदर्शनस्थलमा प्रहरी मात्र थिएन। सशस्त्र पनि थियो। दुई जनाको ज्यान गएसँगै गृहले प्रदर्शनस्थलमा भएको बल प्रयोगबारे छानविन गर्न समिति गठन गरेको छ। समितिको अध्यनबाट दुर्घटना या अधिक बल प्रयोगको परिणाम निष्कर्ष आउनसक्छ।

पुष १३, २०८० शुक्रबार २०:०५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।