आफू सवार गाडीमा आगजनी भएपछि मन्त्री ज्वालाले भने- न सम्बन्ध छ, न सरोकार छ

आफू सवार गाडीमा आगजनी भएपछि मन्त्री ज्वालाले भने- न सम्बन्ध छ, न सरोकार छ

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी क्षेत्रमा भएको प्रदर्शनमा आफू चढेको गाडी आगजनी भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वालाले पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग आन्दोलनकारीको मागबारे आफू जानकार नभएको हुँदा यस् घटनामा आफ्नो सरोकार र सम्बन्ध नभएको बताए।

आफ्नो मन्त्रालयसँग सम्बन्धित नभएको विषयमा आगजनी गरिएको उनको भनाइ छ।

‘बालकुमारीमा भएको घटनाका सन्दर्भमा न हामीलाई जानकारी छ, न पूर्व जानकारी छ। न सम्बन्ध छ, न सरोकार छ। हाम्रो मन्त्रालयसँग कुनै साइनो सम्बन्ध नै छैन', उनले भने, ‘गाडी मन्त्रालयतिर गइरहेको बेलामा त्यहाँ रोकियो। गाडी रोकेर टायरको हावा खुस्काइयो। गाडीमा आगजनी गरियो। यो अत्यन्त दु:खद विषय हो।’

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षामा आवेदन दिएका युवाहरूले गरेको आन्दोलनको क्रममा मृत्यु भएको घटनामा उनले दु:ख व्यक्त गर्दै उनले बिना कारण आगजनी गरेर सरकारी सम्पत्तिको क्षति पुर्याउने कुरा खेदजनक भएको टिप्पणी गरे।

‘बिना कारण कुनै सम्बन्ध नभएको कुरामा सडकमा गाडी गुडिरहेको छ। आफ्नो मन्त्रालय, कार्यालयमा गइरहेको छ। जो जसको सरोकार जहाँ–जहाँ थियो त्यो एउटा विषय होला। हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण थिएन। बिना कारण आगजनी गर्नुपर्ने कुरा, सरकारी सम्पति क्षति पुर्याउने कुरा खेदजनक हो’, उनले भने।

आफूलाई प्रहरी र प्रदर्शनकारीको भिडन्त, गोली लाग्ने कुराबारे धेरै जानकारी नभएको उनको भनाइ छ। 

‘गाडी मन्त्रालयमा गइरहेको बेलामा घेरामा पर्यो। आगजनी गरियो। यो हुन नहुने कुरा हो। यो घटनामा मेरो व्यक्तिगत रूपमा सरोकार सम्बन्ध केही पनि छैन’, उनले भने।

पुष १३, २०८० शुक्रबार १७:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।