बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका सुजनबारे किष्ट अस्पतालले भन्यो- ‘गोली लागेको छैन’

बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका सुजनबारे किष्ट अस्पतालले भन्यो- ‘गोली लागेको छैन’

काठमाडौं : ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएका भनिएका युवालाई गोली नलागेको अस्पतालले जनाएको छ।

गोली लागेर मृत्यु भएको भनिएका २३ वर्षीय सुजन राउतको शरीरमा गोली नलागेको किष्ट अस्पतालका प्रमुख अमिष पाठकले उकेरालाई जानकारी दिए।

‘उनलाई गोली पनि लागेको थियो?’ भन्ने उकेराको प्रश्नमा किष्ट अस्पताल प्रमुख पाठकले भने, ‘गोली होइन, गोली होइन, निलो डाम छ। गोली लागेको त दुलो हुन्छ। यो निलो डाम मात्र छ।’

राउतलाई बालकुमारी क्षेत्रबाट अचेत अवस्थामा अस्पताल पुर्याइएको भन्दै पाठकले आन्दोलनकै क्रममा घाइते भएका हुन् वा हैनन् भन्ने पुष्टि गर्न नसकेको बताए।

‘बालकुमारी क्षेत्रबाट अचेत अवस्थामा ल्याइएको हो, सायद आन्दोनलनै क्रममा ल्याइएको होला। त्यसको पुष्टि गर्न सकेको छैन।’

राउतलाई १२ बजेर ४० मिनेटमा अस्पताल पुर्याइएकोमा १ बजेर १७ मिनेटमा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो।

उनले थपे, ‘अस्पताल ल्याउँदाखेरी नै अलमस्ट मृत अवस्थामा ल्याइएको थियो।’

आन्दोलनमा अर्का एक जना पनि घाइते भएका छन्। उनको उपचारको लागि पाटन अस्पतालमा लगिएको छ।

शवलाई अहिले अस्पतालमै राखिएको जानकारी दिँदै उनले प्रहरी प्रशासन र जिल्ला प्रशासनसँग समन्वयपछि मात्र शव व्यवस्थापनको प्रक्रिया गरिने बताए।

कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनले उग्ररुप लिएको थियो।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकी हावा खुस्काएर गाडीमासमेत उनले आगजनी गरेका थिए।

पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो।

पानी जहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए। उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो।

ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। अरु विद्यार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि विरोध प्रदर्शन भइरहेको थियो।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले सुरुमा अश्रुग्याँस हानेको थियो। स्थिति साम्य हुने स्थिति नदेखिएको भन्दै हवाई फायर गरेको थियो।

१३ पुस, २०८०, १५:३५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।