यातायात मन्त्री ज्वालाको गाडी आगजनी : पाँचजना पक्राउ, मन्त्रीको ‘रेस्क्यु’

यातायात मन्त्री ज्वालाको गाडी आगजनी : पाँचजना पक्राउ, मन्त्रीको ‘रेस्क्यु’

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।

आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले भने, ‘आन्दोलित युवाहरूको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्रीज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ।’

ग्वार्को स्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

कोरियन भाषा परीक्षाका लागि सीप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो।​​

सीप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए। त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए।

अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ।

१३ पुस, २०८०, १४:२५:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।