हिन्दु र मुस्लिमको आस्था जोडिएको बराहक्षेत्रको ‘औलिया मठ’

हिन्दु र मुस्लिमको आस्था जोडिएको बराहक्षेत्रको ‘औलिया मठ’

काठमाडौं : सामान्यतया हिन्दु धर्मावलम्बीले ३३ कोटी देवीदेवता रहेको विश्वास गर्दछन् भने मुस्लिम (इस्लाम) धर्मावलम्बीले एकमात्र देउता महोम्मद अल्लाहप्रति आस्था राख्दछन्।

फरक-फरक धर्म भएका कारण यी दुई धर्मावलम्बीहरूको धार्मिक क्रियाकलाप गर्ने तौरतरिका पनि स्वभाविकै रूपमा छुट्टाछुट्टै हुने नै भए। हिन्दुहरू मन्दिरमा गएर पूजाआजा गर्ने गर्दछन् भने मुस्लिमहरू मस्जिदमा गएर नमाज पढ्छन्।

धार्मिक गतिविधिकै लागि हिन्दुहरू मस्जिद जादैनन् अनि मुस्लिमहरू पनि मन्दिर धाउँदैनन्।

तर, सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरामा अवस्थित औलिया बाबाको मठसँग हिन्दु र मुस्लिम दुवै धर्मावलम्बीको आस्था जोडिएको छ। हिन्दुहरू यसलाई औलिया बाबाको रूपमा पुज्छन् भने मुस्लिमहरू अल्लाहको रूपमा मान्छन्।

तत्कालीन राजा मुकुन्दसेनले बराहक्षेत्र मन्दिरको दर्शन गर्न आउँदा ज्वरो आएपछि उनले औलिया बाबाका पूजाआराधना गरेपछि निको भएको किंवदन्ती छ। सोहीअनुरूप आजसम्म पनि औलिया बाबाको पूजाआजा गर्ने गरिएको मठका पुजारी अर्जुन कोइराला बताउँछन्।

उनी भन्छन्, ‘औलिया बाबा यहीँ तपस्या गर्न बस्थे। बाबासँग थुप्रैखाले रोगव्याधी निको पार्नसक्ने शक्ति थियो। त्यसैले आज पनि भक्तालुहरू रोगव्याधी निको बनाइदिन भाकल गर्दै यहाँ आउँछन्।’

साउनमा हुने बोलबम र माघे संक्रान्तिमा बराहक्षेत्र दर्शन गर्न आउँदा औलिया बाबाको दर्शन नगरी जान हुँदैन भन्ने जनविश्वास रहेको उनले बताए। साउन र माघमा औलियामा तीर्थालुहरूको भीड लाग्ने पुजारी कोइरालाको भनाइ छ।

अर्कोतिर औलिया बाबाप्रति मुस्लिम समुदायका मानिसहरूले वि.सं. २०२२ सालदेखि आस्थापूर्वक मान्न थालेको देखिन्छ। वि.सं. २०२० सालमा सुनसरी–मोरङ सिंचाइ आयोजनाअन्तर्गतको कोशी प्रोजेक्टले नहर विस्तारको कार्य गरिरहेको थियो। जसलाई झुम्का–चतरा नहर पनि भनिन्छ।

नहर निर्माणका लागि सात नदीको संगम चतराबाट खन्ने काम सुरू भयो। त्यसका लागि भुप्रै भारतीय मुस्लिमहरू कामदारको रूपमा आएका थिए। काम चलिरहँदा विं.सं. २०२२ मा ती कामदारहरू बिरामी भए।

उनीहरू शरीरभरी घाउखटिरा र ज्वरो आउने क्रम चलिरह्यो। थुप्रै औषधिमुलो गर्दासमेत निको नभएपछि उनीहरू औलिया बाबाको मान्दिरमा गएर प्रार्थना गरे। त्यसको केही समयपछि नै रोगब्याधी निको भएको बराहक्षेत्रका स्थानीयको भनाइ छ।

त्यसपछि भने उनीहरू नियमित रूपमा औलियाको दर्शन गर्न आउने गरेको उनले पूर्र्व शिक्षक समेत रहेका बराहक्षेत्रका स्थानीय कृष्णप्रसाद कट्टेलले बताए।

‘२०२२ को दशकमा पहिलोपटक भारतीय मुस्लिमहरूले यहाँ पूजा गरेको सुनेका थियौँ,’ उनले भने, ‘पछिल्लो चरणमा २०५० सालतिर विराटनगरबाट केही मानिसहरूको हुलै आएर पूजा गरेर जानेको गरेको हामीले पनि देखेका हौँ।’

उनका अनुसार २०५० पछि प्रत्येक वर्ष साउन महिनामा भारत र बिराटनगरबाट ७÷१० जनाको समूहमा ब्याण्ड बाजा बजाउँदै आउने र औलियामा केहिबेर बसेर भलाकुसारी अनि पूजाआजा गर्ने गर्दछन्।

‘ती मुस्लिम व्यक्तिहरूसँग कुराकानी गर्दा उनीहरूले औलिया बाबालाई अल्लाहको रूपमा मान्ने गरेको बताउँथे’, कट्टेलले थपे, ‘४५ सालदेखि चाहिँ स–साना भ्यानहरू नै लिएर आएको हामीले देख्थ्यौँ।’

‘मुस्लिमको एउटा उप-समूहले औलियालाई अल्लाहसम्म पुग्ने माध्यमको रूपमा पुर्काछन्’
मुस्लिमहरूको पनि विभिन्न उप–समूह भएको र एउटा समूहले औलियालाई अल्लाहसम्म पुग्ने माध्यमको रूपमा मान्ने गरेको इस्लाम धर्मगुरू मौलना हारुन खानले बताए।

उनका अनुसार इस्लाम धर्म अन्तर्गत देवन्बी, हानफी, हम्बली लगायत थुप्रै समूहहरू हुन्छन्। त्यसमध्ये पनि मुस्लिम समुदायकै बरेल्बी उप-समूहले औलियालाई अल्लाहको अवतार मान्छन्।

‘बरेल्बी उप-समूहको विशेषता भनेकै मृत्युपछि अन्येष्टि गरिएको स्थानमा पूजा अनि प्रार्थना गर्छन्,’ धर्मगुरु खान भन्छन्, ‘तर, अन्य मुस्लिमले मृत्युपछि अन्येष्टि गरिएको स्थानमा केही पनि गर्दैनन्।’

बरेल्बी उप-समूहका मानिसहरू भारतको बीरपुर, नयाँ दिल्ली र नेपालको विराटनगर, जनकपुर लगायतका स्थानमा बसोबास गर्ने खान बताउँछन्।

‘बरेल्बीहरू पनि मुस्लिम नै हो, मस्जिद जान्छन्, नमाज पढ्छन् अल्लाहलाई मान्छन्, उनीहरू हाम्रो मस्जिदमा आउँछन् हामी पनि उनीहरूकहाँ जान्छौँ’, उनी अगाडि भन्छन्।

‘‘ओली’ भनेको एकवचनमा अल्लाहको अवतार हो भने ‘औलिया’ बहुवचनमा अल्लाहको अवतार हो’, उनले थपे।

सबै मुस्लिमहरूले औलिया मान्ने भए पनि बरेल्बीले अलि विशेष गरी मान्ने गरेको उनको भनाइ छ।

‘सबै मुस्लिमले औलियालाई मान्छौं तर बरेल्बीहरूले चाहिँ औलियालाई ईश्वरकै अवतार मान्छन् र केही मनोकांक्षा माग्नुपर्यो भने औलियालाई अल्लाहसम्म पुग्ने माध्यमको रूपमा पुकार्छन्।’

दुई छुट्टा-छुट्टै धर्मको आस्था जोडिएको भए पनि औलिया बाबाको पर्याप्त प्रचार र संरक्षणको भने अभाव देखिन्छ।

पुष १३, २०८० शुक्रबार १४:२४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।