गभर्नर अधिकारीलाई पदमुक्त गर्न माग गर्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

गभर्नर अधिकारीलाई पदमुक्त गर्न माग गर्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वाेच्च अदालतमा दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ।

अधिवक्ताहरू दिपकराज जोशी, प्रतापसिंह ठकुरानी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले गर्भनर अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै बिहीबार सर्वोच्चमा संयुक्त रिट निवेदन दर्ता गरेका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर रिटको पेशी शुक्रबार तोकिएकाले आज रिटमाथि प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।

रिट निवेदकहरूले गभर्नर अधिकारीको पद अनुरूपको शैक्षिक योग्यता नपुगेको भन्दै पदमुक्त गर्न माग गरेका छन्। उनीहरूले चाटर्ड एकाउन्टेन्टलाई स्नातकोत्तर मान्न नसकिने जिकिर गरेका छन्।

अधिकारीलाई गभर्नर बनाउने २०७६ चैत २४ गतेको नेपाल सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारी विरूद्ध अधिकारपृच्छको रिट जारी हुनुपर्ने माग रिट निवेदकहरूले गरेका छन्।

राष्ट्र बैंक ऐन अनुसार स्नातकोत्तर(मास्टर्स) गरेको व्यक्ति मात्रै केन्द्रीय बैंकको गभर्नर हुने व्यवस्था रहेको छ। तर, अधिकारीको हकमा भने उनी त्रिभुवन विश्वविद्यालयबाट उपाधि प्राप्त व्यक्ति हुन्।

रिट निवेदकले उपाधि प्राप्त व्यक्तिलाई गभर्नर बन्न नसक्ने भन्दै रिट निवेदन दर्ता गराएका हुन्।

रिट निवेदनमा भनिएको छ, ‘ऐनले स्पष्ट स्नातकोत्तर उपाधि भनेपछि सो सरहको उपाधि देखाई नेपालको प्रमुख बैँकको प्रमुख व्यक्तिको रूपमा नियुक्त हुन कसरी पाइन्छ? विधायीकी मनसाय भनेको सो सरहलाई गभर्नर बनाउने पक्कै होइन।’

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनु पर्ने, उच्च नैतिक चरित्र भएको हुनु पर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ।

त्यस्तै, यसअघि पनि उनीविरूद्ध एमालेको आर्थिक विभागमा एम अधिकारीका नाममा गभर्नर अधिकारी रहेको भन्दै अन्य पार्टीको भातृ संगठनले सडक आन्दोलन गरेका थिए।

पुष १३, २०८० शुक्रबार ०९:४९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।