‘संस्कृति स्पोर्टस् सम्मान २०२३’बाट कुशल मल्ल सम्मानित

‘संस्कृति स्पोर्टस् सम्मान २०२३’बाट कुशल मल्ल सम्मानित

काठमाडौं : संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान २०२३ राष्ट्रिय क्रिकेट खेलाडी कुशल मल्ललाई प्रदान गरेको छ।

खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ।

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलियाविरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए।

मल्ललाई उक्त अवार्ड विद्यालयका अध्यक्ष रञ्जित आचार्य र निर्देशक दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले हस्तान्तरण गरे।

अवार्डको साथै मल्ललाई एक लाख १ हजार रुपैयाँको चेकसमेत प्रदान गरिएको छ।

त्यसै गरी सोही कार्यक्रममा सोनी पाख्रिनलाई ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। यो छात्रवृत्ति व्यावसायिक तालिम लिन नसक्ने देशभरका १९ वर्षमुनिका खेलाडीहरू मध्ये एक जनालाई योग्य क्रिकेटरलाई प्रदान गरिन्छ।

प्रशिक्षण पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरमार्फत प्रदान गरिन्छ।

पुष १३, २०८० शुक्रबार ०८:५८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।