प्रिमियर लिगमा आर्सनल दोस्रो, ब्रिङ्टनसँग टोटनहम ४-२ ले स्तब्ध*
काठमाडौं : अंकतालिकाको शीर्ष स्थानमा कायमै रहने आर्सनलको सपना तोड्दै वेस्ट ह्यामले २-० को जित निकालेको छ।
लण्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको खेलमा वेस्ट ह्यामले सुरुवाती अग्रता बनायो। खेलको १३औं मिनेटमा ज्यारोड बावेनको पासमा थोमस सुसेकले गोल गरे।
खेलको २८औं मिनेटमा आर्सनलका बुकायो साकाले डिबक्स बाहिरबाट प्रहार गरेको सटिक बललाई वेस्ट ह्यामका गोलकिपरले रोके।
पहिलाको हाफको इन्जुरी समयमा लियनार्दो ट्रोसार्डले गरेको प्रहारलाई पनि वेस्ट ह्यामका गोलकिपरले विफल बनाइदिए।
पहिलो हाफमा १-० पछि परेको आर्सनल दोस्रो हाफमा खेलमा फर्केन प्रयास गर्यो।
खेलको ५५औं मिनेटमा वेस्ट ह्यामका जेम्स वार्ड प्रोसले कर्नर प्रहार गरेको बललाई कोन्स्टान्टियन मार्भोपानोसले हेडमार्फत गोल गरे।
६० हजार घरेल समर्थकबीच २-० ले पछि परेको आर्सनल त्यसपछि भने खेलमा फर्कन सकेन।
हारसँगै आर्सनल ४० अंकसहित तालिकाको दोस्रो स्थानमा झरेको छ वेस्ट ह्याम ३३ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। पहिलो स्थानमा लिभरपुल ४२ अंकका साथ खडा छ।
यस्तै प्रिमियर लिग अन्तर्गत नै भएको अर्को खेलमा टोटनहम हटस्पर ब्रिङ्टनसँग २-४ गोलले स्तब्ध बन्यो। खेलको ११औं मिनेटमा ज्याक हिन्सेवुडले गोल गर्दै ब्रिङ्टनलाई सुरुवाती अग्रता दिलाए।
२०औं मिनेटमा टोनहमका खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि त्यसलाई भीएआरमार्फत चेक गरिएको थियो। भीएआरले पेनाल्टी दिएपछि ब्रिङ्टन खेलमा २-० ले अगाडि भयो। पेनाल्टी जोय पेड्रोले प्रहार गरेका थिए।
पहिलो हाफमा २-० ले पछि परेको टोटनहम दोस्रो हाफको सुरुवाती अवस्थामा पनि खेलमा फर्कन सकेन। बरु खेलको ६५औं मिनेटमा ब्रिङ्टनका पेर्भिस इस्टुपिननले कर्नरबाट प्राप्त भएको बललाई गोलमा परिणत गरे।
त्यसपछि पनि ब्रिङ्टन रोकिएन। खेलको ७५औँं मिनेटमा उसका लागि पेड्रोले दोस्रो गोल गर्दै टिमका लागि ४ गोल गरे।
४-० ले पछि परेको अवस्थामा टोटनहमले दुई गोल भने फर्कायो। उसका लागि खेलको ८१औं मिनेटमा अलेजो भेइज र ८७औं मिनेटमा बेन डेभिसले गोल फर्काए।
त्यसपछि पनि टोटनहमका खेलाडीले इन्जुरी समयमा दुई सटिक प्रहार गरेका थिए। तर ब्रिङ्टनका गोलकिपर बाधक बन्न पुगे।
हारसँगै टोटनहम ३६ अंकसहित पाँचौं स्थानमा कायमै छ भने ब्रिङ्टन आठौं स्थानमा उक्लिएको छ।
*यसअघि प्रकाशित समाचारमा आर्सनल गोल गर्न चुकेको भन्ने तथ्यगत त्रुटी भएकाले क्षमायाचनासहित सच्याइएको छ।
पुष १३, २०८० शुक्रबार ०७:४०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।