कांग्रेस बैठकमा नेताहरूको प्रश्न- चुनाव हारेकालाई किन राष्ट्रियसभाको उमेदवार बनाउने?

कांग्रेस बैठकमा नेताहरूको प्रश्न- चुनाव हारेकालाई किन राष्ट्रियसभाको उमेदवार बनाउने?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूले चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउन नहुने बताएका छन्।

सानेपामा जारी बैठकमा आज नेताहरूले नयाँलाई अवसर दिनुपर्ने बताएका छन्।

बैठकमा केन्द्रीय सदस्य देवेन्द्र कँडेलले विभिन्न तहमा चुनाव लडेर हारेकाहरूलाई उमेदवार बनाउन नहुने बताए।

‘अवसर नपाएकाहरूलाई अवसर दिऔँ। मापदण्ड बनाऔँ,’ उनको भनाइ थियो।

अर्का नेता राजीव कोइरालाले पनि चुनावमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउन नहुने बताए। अन्यथा आफूलाई पनि उमेदवार बनाउन उनको माग छ।

‘हारेकाहरूलाई राष्ट्रियसभामा उमेदवार बनाउने भए मैले पनि चुनाव हारेको हो। मलाई पनि उमेदवार बनाऊ। मापदण्ड बनाऊ, चुनाव हारेकालाई उमेदवार नबनाऊ,’ बैठकमा उनले भने।

राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक, मन्त्रीहरूको प्रगति विवरण, राष्ट्रिय मेलमिलाप दिवस मनाउने लगायतका एजेन्डामा छलफल गर्न कांग्रेस बैठक जारी छ। आजदेखि सुरू भएको बैठक १४ गतेसम्म रहनेछ।

१२ पुस, २०८०, १८:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।