बक्यौता बापतको रकम नतिरे अरू उद्योगको पनि लाइन काटिन्छः कुलमान घिसिङ्ग

बक्यौता बापतको रकम नतिरे अरू उद्योगको पनि लाइन काटिन्छः कुलमान घिसिङ्ग
फाइल फोटो

काठमाडौं : नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गले पैसा नबुझाउने उद्योगहरूको विद्युत प्रशारण काट्ने चेतावनी दिएका छन्।

प्राधिकरणले आज गरेको पत्रकार सम्मेलनमा प्रबन्ध निर्देशक घिसिङ्गले यस्तो चेतावनी दिएसँगै डेडिकेटेड र ट्रक लाइन विवादले नयाँ मोड लिएको हो।

केही दिन अघि अर्थमन्त्री प्रकाशशरण महतले उद्योगहरूको लाइन काट्ने प्राधिकरणको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए। तर प्राधिकरणले भने महसुल नबुझाउने थप उद्योगहरूको समेत विधत लाइन काट्ने प्रबन्ध निर्देशक घिसिङ्गले आज गरेको पत्रकार सम्मेलनमार्फत चेतावनी दिए।

प्राधिकरणले अहिलेसम्म ९ वटा उद्योगबाट कुल १२ अर्ब ५० करोड बक्यौता नतिरेको भन्दै लाइन काटिसकेको छ। प्राधिकरणका अनुसार ६१ उद्योगमा गरी कुल २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता तिर्न बाँकी रहेको जनाएको छ।

पत्रकार सम्मेलनमा उद्योगहरूले प्राधिकरणको अनुरोधलाई वेवास्ता गरेको कारण उनीहरूकहाँ कानुन अनुरूप नै लाइन काटेको जनाएको छ।

सम्मेलनमा बोल्दै घिसिङ्गले भने, ‘हाम्रो अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न सुरू गरिएको छ। आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रूपमा १७÷१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेको बेला २ सय ३९ औद्योगिक, व्यापारिक र गैर व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए। २ सय ३९ ग्राहकमध्ये १ सय ७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।’ 

पुष १२, २०८० बिहीबार १७:०६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।