भारतीयसहित चार निर्माण कम्पनी सरकारको कालो सूचीमा

भारतीयसहित चार निर्माण कम्पनी सरकारको कालो सूचीमा

काठमाडौं : सरकारले चार निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुमगमन कार्यालयको पुस ११ गतेको निर्णय अनुसार बिहीबारदेखि लागू हुने गरी चार निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो।

कार्यालयले भारतको पश्चिम बंगालका आदित्य सितानीको एमपी सितानी एण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालो सूचीमा राखेको हो।

यी तीन कम्पनीलाई सडक विभाग अन्तर्गतको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय कुश्मा, पर्वतको सिफारिमा कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ।

त्यसैगरी पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार कालो सूचीमा राखेको अवधिभर यी चार निर्माण कम्पनी वा खरिदकर्ताले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

पुष १२, २०८० बिहीबार ०८:१४:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।