पूर्व डिआइजी महेशविक्रम भ्रष्टाचारी ठहर

पूर्व डिआइजी महेशविक्रम भ्रष्टाचारी ठहर

काठमाडौँ : विशेष अदालतले नेपाल प्रहरीका पूर्व डिआइजी तथा मदन पुरस्कार विजेता लेखक महेशविक्रम शाह र पूर्व सई दीपेन्द्रप्रसाद पनेरुलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

शाह र पनेरुसहित चार जनामाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहेको बेलामा ३३ लाख बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

बुधवार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले शाह र पूर्व सई पनेरुलाई दोषी ठहर गर्दै प्रहरी हवलदार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले भने सफाइ दियो।

बुधवार दोषी ठहर गरिए पनि सजाय भने तोकिएको छैन। पुस २५ मा बस्ने इजलासले उनीहरूलाई सजाय तोक्नेछ। तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था छ।

शाहमाथि चार वर्ष पहिले भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानको नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो। उनी विरुद्ध परेको उजुरीको छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

शाह २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेर ३० वर्षे सेवा अवधिका कारण २०७६  माघमा प्रहरी सेवाबाट अवकाश पाएका थिए। उनी प्रहरीका रूपमा भन्दा कथाकारका रूपमा बढी परिचित छन्। उनको कथासङ्ग्रहले मदन पुरस्कार समेत पाएको थियो।

उनीसहित चार जनामाथि १ सय ३ जनाको तलब भत्ताको ३१ लाख ८८ हजार र नयाँ प्रशिक्षार्थीको १ दाख ४९ हजार गरेर ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।

पुष ११, २०८० बुधबार २०:५१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।