काठमाडौं महानगरले बानेश्वरको आकासे पुलमा २ वटा लिफ्ट राख्ने, ५ करोड विनियोजन

काठमाडौं : काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा दुई वटा लिफ्ट राख्ने तयारी गरेको छ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी राख्न लागिएको उक्त पुलको दुवैपट्टि एक/एक वटा लिफ्ट राख्ने तयारी भएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए।
उनका अनुसार उक्त लिफ्टलाई ज्येष्ठ नागरिक, शारीरिक रूपमा असक्षम, अपांगता भएका नागरिक तथा बालबालिकाले आवश्यकता अनुरूप प्रयोग गर्न सक्नेछन्।
एक पटकमा आठ जनाले सेवा लिन सक्ने उक्त लिफ्ट राख्नका लागि महानगरले चालू आर्थिक वर्षमा रू. पाँच करोड विनियोजन गरेको छ। चालू आवको नीति कार्यक्रम र बजेटमा व्यवस्था भए अनुरूप नै महानगरले उक्त स्थानमा लिफ्ट राख्ने तयारी गरेको हो।
लिफ्टका लागि बोलपत्र आव्हानको अन्तिम तयारी भइरहेको जनाउँदै आगामी साता निर्माणका लागि सार्वजनिक सूचना आउने ट्राफिक विज्ञ सल्लाहकार श्रेष्ठले बताए।
लिफ्ट राखिसके पछि त्यसको संरक्षण र रेखदेख गर्नका लागि महानगरले केही स्वयंसेवक राख्ने तयारी गरेको छ।
पुष ११, २०८० बुधबार १८:१८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।