नेपाल बैंकका प्रबन्धक भुपराज कोइरालालाई डेढ करोड बिगो जरिवानासहित ६ वर्षको कैद सजाय

नेपाल बैंकका प्रबन्धक भुपराज कोइरालालाई डेढ करोड बिगो जरिवानासहित ६ वर्षको कैद सजाय

काठमाडौं : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई विशेष अदालतले सजाय निर्धारण गरेको छ।

आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रूपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो।

साथै, उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ।

दोषी ठहरिएका कोइरालाले बिगो र जरिवाना गरि १ करोड ४८ लाख रूपैयाँ तिर्नुपर्ने भएको छ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिए।

अख्तियारले कोइरालाविरुद्ध २०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो।

नेपाल बैंक लिमिटेडको काठमाडौंको बैकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत रहेका कोइरालाले बैंकिङ सिस्टम अन्तर्गत व्यक्तिगत रूपमा दिइएको अरू कसैले प्रयोग गर्न नमिल्ने टेलर आईडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको भेटिएको थियो। त्यसमार्फत उनले ५४ लाख ८४ हजार रूपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी थियो।  

अख्तियारले कोइरालालाई ५४ लाख ८४ हजार ४५ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भए बमोजिम रकम र जरिवाना असुल माग दाबी गरेको थियो। 

पुष ११, २०८० बुधबार १७:२२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।