बागलुङ पुगेर राष्ट्रपतिले सम्झिए आफू जेल पर्दा दूध र तरकारी ल्याइदिनेहरू

बागलुङ पुगेर राष्ट्रपतिले सम्झिए आफू जेल पर्दा दूध र तरकारी ल्याइदिनेहरू

बागलुङ : गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न बागलुङ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले २०४६ को आन्दोलनताका जेल पर्दा तरकारी दूध ल्याइदिनेहरूलाई सम्झिए।

उनले आफूसँगै बागलुङ कारागारमा जेल जीवन बिताउने साथीहरू गोविन्द कँडेल, तनहुँका लक्ष्मी आचार्य र बागलुङका नेता जगदीश उपाध्याय, रघुपति तथा ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र ईश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटालगायतका बाह्रपन्ध्रजनालाई सम्झिएका थिए।

‘जेलमा दूध, तरकारी पुर्याइदिने सापकोटा बाजे र बागलुङ बजार बिँहु–लेखानी, पैयूँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मणिकुँवा अनि पाङ, ग्यादी र कुस्माका साथीहरूलाई स्मरण गर्न चाहन्छु’ उनले भने।

उनले जुन आस्था र विश्वास बोकेर २०४६ सालमा धौलागिरिमा आन्दोलन उठाउन आएको  त्यो आस्था र विश्वासबाट आजपर्यन्त अटल रुपले निर्देशित रहेको भन्दै उनले आजको संविधान त्यसरी नै कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको बताउँदै जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पुर्याउन नसक्ने बताए।

आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको भन्दै उनले स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धामक क्षमता अभिवृद्धि गर्न मेशिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण कर्जाको आवश्यकतामा जोड दिएका थिए।

उनले यसका लागि स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित  लघु, घरेलु र साना उद्योगलाई बजार प्रवर्द्धनका कार्यक्रम  दिन सक्नुपर्ने बताएका थिए।

‘मैले भन्नै पर्दछ, हरित अर्थतन्त्रको मान्यताअनुसार वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकूल तथा न्यूनीकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्दछ’, राष्ट्रपति पौडेलले भने ‘म यहाँ निजी क्षेत्रको तर्फबाट उपस्थित हुनुभएका अगुवाहरूलाई यी देखिएका हिमशृङखला, हामीले होस पुर्याएनौ भने नरहन पनि सक्दछ।'

राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्त्वपूर्ण भूमिका हुने र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र सङ्घीय सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनुपर्ने बताएका थिए।

पुष ११, २०८० बुधबार १६:५२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।