गठबन्धन पाँच वर्ष चल्ने प्रधानमन्त्रीको दाबी, प्रधानमन्त्री बदलिने/नबदलिने पक्षमा मौन

गठबन्धन पाँच वर्ष चल्ने प्रधानमन्त्रीको दाबी, प्रधानमन्त्री बदलिने/नबदलिने पक्षमा मौन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन्। उनले पाँचै वर्ष आफैँ प्रधानमन्त्री रहने वा गठबन्धन भित्रबाट योबिचमा अर्को प्रधानमन्त्री चुनिएर गठबन्धन भने जारी रहने त्यो भने खुलाएनन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको दाबी गर्दै बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए।

'सरकारले यो एक वर्षे कार्यकालमा नागरिकता समस्या , मिटरव्याजीको समस्या , सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बुढीगण्डकी आयोजना , जलवायु न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको  छ। एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्' उनले भने।

उनले सरकारले राम्रा कामको सुरुवात गरे पनि गणतन्त्र र परिवर्तन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै उनले राम्रा कामको प्रचार जनता र परिवर्तन पक्षधरले गर्नुपर्ने बताएका थिए।

पछिल्लो समय परिवर्तन विरोधीहरूले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध षडयन्त्र गरिरहेको दाबी गर्दै नकारात्मक मात्रै देखाएर अँध्यारो मात्रै देखाउने काम गर्न खोजिएको समेत बताए।

'गठबन्धनका विरुद्ध धार्मिक द्वन्द्व सिर्जना गर्न खोजियो। तर उनीहरूले जतिसुकै बल गरे पनि केही भएको छैन। हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौँ, ' प्रचण्डले भने।

पुष ११, २०८० बुधबार १६:३७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।