सुदुरपश्चिमबाट पुन: देखिन थाल्यो कोरोनाको संक्रमण

सुदुरपश्चिमबाट पुन: देखिन थाल्यो कोरोनाको संक्रमण
फाइल फोटो

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण सुदुरपश्चिम प्रदेशबाट पुन: देखिन थालेको छ।

भारतबाट फर्किने व्यक्तिहरूमा फेरि कोरोना सङ्क्रमण देखिन थालेको हो।

पछिल्लो डेढ सातायता नियमित रूपमा एकदेखि तीन जनासम्ममा दैनिक रूपमा कोरोना भाइरस पुष्टि हुन थालेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

पछिल्लो समय भारतमा तीब्र बढिरहेको कोरोना संक्रमणको असरले त्यहाँबाट सुदूरपश्चिम प्रवेश गर्नेहरूमध्ये केहीमा कोरोना संक्रमण देखा पर्न थालेको उनले बताए।

आज पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आएका एक जनामा कोरोना देखिएको छ।

आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यस अगाडि गत हप्ता बुधबार र बिहीबार पनि ४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा उच्च सतर्कता अपनाइएको छ। सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रूपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले बताए।

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको भट्टले जानकारी दिए।

भारतमा अझै पनि संक्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ छ।

पुष ११, २०८० बुधबार १५:४१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।