‘टेरामक्स’ खरिदमा भ्रष्टाचार भएको जिकिर गर्दै अमरेशले भने- कर्मचारी, नेता सबैलाई समाउनुपर्छ

‘टेरामक्स’ खरिदमा भ्रष्टाचार भएको जिकिर गर्दै अमरेशले भने- कर्मचारी, नेता सबैलाई समाउनुपर्छ
फाइल फोटो

काठमाडौं : प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ खरिद भ्रष्टाचार भएको बताएका छन्।

बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताएका हुन्।

‘यहाँ पैसाको लेनदेन पारदर्शी भएन। राष्ट्र बैँकलाई थाहा छैन। पैसा बोरामा बोकेर गएको कि प्लेनमा?’, बैठकमा बोल्दै सांसद सिंहले भने, ‘किनेको छ कि छैन? किनेको भए किन जडान भएन? हामी उद्देश्यहीन बैठक बसेका छौँ। चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो?’

उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन्।

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शिता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो। ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ।

पुष ११, २०८० बुधबार १४:०७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।