ग्यालेक्सी टिभी र सहकारी विवादमा रविको प्रश्न- छोडिसकेको कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्छ र?

ग्यालेक्सी टिभी र सहकारी विवादमा रविको प्रश्न- छोडिसकेको कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्छ र?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी हिनामिना प्रकरणमा आफ्नो नाम जोडिएर लगातार समाचार आएपछि सामाजिक सञ्जालबाट जवाफ दिएका छन्।

कान्तिपुर दैनिकमा हिजो प्रकाशित समाचारमा ग्यालेक्सी टीभीसँग सम्बन्धित पुरानो कागजात प्रकाशित गरिएकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन्।

समाचारमा आफूलाई अझै पनि ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कको सेयरवाला रहेको भ्रम छर्न खोजिएको उनको भनाइ छ।

‘भ्रमलाई सत्यका रूपमा स्थापित गर्न उसले सेयर लगतको पुरानो (२०७८/६/२३) को विवरण राखेको रहेछ। त्यसपछि गोर्खा मिडिया नेटवर्कको सेयर लगतमा निकै फेरबदल भइसकेको तथ्यको कागजात उसले पाउन सकेन वा नियतवश लुकायो म भन्न त सक्दिन! पुरानो कागजातको सहारा लिएर भ्रम छर्नुअघि नयाँ कागजात खोज्ने सामर्थ्य राखेको भए उसको नियतमा अहिले जसरी सार्वजनिक प्रश्न आउने थिएन,’ रविले लेखेका छन्।

ग्यालेक्सी टीभी छोड्ने बेलामा आफूलाई नि:शुल्क दिएको सेयर सबै ट्रान्सफर गरेको जानकारी गराएको रविले स्मरण गराएका छन्।

‘मैले सार्वजनिक जानकारी दिइसकेको मात्र होइन, कानूनी रूपमै अलग भइसकेको कम्पनीसँग सम्बन्धित पुरानो कागजात भजाएर कान्तिपुरले के स्थापित गर्न खोजिरहेको छ, मैले बुझ्न सकेको छैन,’ उनी भन्छन्, ‘कुनै कम्पनीमा सञ्चालक रहेको व्यक्तिले वैधानिक रूपमै छोडेपछि पनि त्यो कम्पनीको जिम्मेवारी जीवनभर लिनुपर्ने हुन्छ र?’

आफूले गोर्खा मिडिया नेटवर्कले सञ्चालन गरेको ग्यालेक्सी टीभीमा दोस्रो वरीयतामा रहेर समाचार सामग्रीको मात्र नेतृत्व गरेको उनको भनाइ छ।

सहकारीले आफ्ना सदस्यबाहेक कुनै संस्थालाई ऋण दिनु कानून विपरीत रहेको र कानून उल्लंघन गरे सहकारी विभागले सम्बन्धित सहकारीलाई कारबाही गर्ने कानूनी व्यवस्था रहेको रविले उल्लेख गरेका छन्।

तर, आफूलाई कम्पनीका प्रमुख जीवी राईले सहकारीबाट ऋण लिएको विषयमा जानकारी नै नगराएको उनको आशय छ।

ग्यालेक्सीले कुनै सहकारीबाट अवैधानिक रूपमा ऋण लिएबापत तत्कालीन सेयर सदस्यका रूपमा आफूलाई पनि कारबाही हुने भए भोग्न तयार रहेको पनि रविले बताएका छन्।

उनले अगाडि भनेका छन्, ‘विद्यमान कानून मलाई कारबाही गर्न अपर्याप्त छ भने संशोधन गरेर भए पनि अभियोग लगाउँदा हुन्छ।’

ग्यालेक्सी टिभीको माउ संस्था गोर्खा मिडियाले सहकारीबाट ऋण लिँदाको बखत उनको पनि टेलिभिजनको नेतृत्वमा रहेको देखिन्छ। उनी गृहमन्त्री पदमा रहँदा पनि कानुनत: ग्यालेक्सीको नेतृत्वमा रहेको उनले सार्वजनिक गरेको शेयर लागतको विवरणमा देखिन्छ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २३ मा संगठित संस्थाबाट भएको कसुरमा मुख्य भई काम गर्नेले कसुर गरेको मानिने भनिएको छ।

त्यसको व्याख्यामा लेखिएको छ, ‘कुनै फर्म, कम्पनी वा संगठित संस्थाले यस परिच्छेद बमोजिम कसुर मानिने कुनै काम गरेमा त्यस्तो फर्मको हकमा त्यस्ता काम गर्दाका बखत सम्बन्धित हिस्सेदारहरू र कम्पनी वा संगठित संस्थाको हकमा कम्पनी वा त्यस्तो संस्थाको मुख्य भई काम गर्ने अधिकारीले त्यस्तो कसुर गरेको मानिनेछ।’

ऐनको स्पष्टिकरणमा मुख्य भई काम गर्नेको बारेमा पनि बोलेको छ।

जसमा भनिएको छ, ‘यस दफाको प्रयोजनको लागि ‘मुख्य भई कामकाज गर्ने अधिकारी’ भन्नाले कम्पनी वा संगठित संस्थाको अध्यक्ष, संचालक समितिका सदस्य, महाप्रबन्धक, प्रबन्ध निर्देशक वा सोही हैसियतमा कामकाज गर्ने पदाधिकारी सम्झनु पर्छ।’

पुष ११, २०८० बुधबार १३:२०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।