मायाप्रेमको गीतमा पनि देशप्रतिको भाव झल्केको देख्छिन् ज्योति मगर, यी हुन् उनका प्रिय दश सुर

मायाप्रेमको गीतमा पनि देशप्रतिको भाव झल्केको देख्छिन् ज्योति मगर, यी हुन् उनका प्रिय दश सुर

काठमाडौं : ज्योति मगर नेपाली सांगीतिक क्षेत्रमा अपरिचित नाम होइन। गायनबाट नेपाली सांगीतिक क्षेत्रमा आएकी उनको परिचय पछिल्लो समय बललिएको छ। उनलाई गायिका भन्दा पनि मोडल भनेर चिन्नेको संख्या अझ धेरै छ।

विभिन्न समय उनका अन्तर्वार्ता तथा स्टेज कार्यक्रमहरूको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका हुन्छन्। उनी त्यसको खासै वास्ता गर्दिनन्। निरन्तर कर्म गरेपछि फल आफैँ हात लाग्छ भन्नेमा विश्वास गर्छिन् उनी।

पछिल्लो समय मेला, महोत्सव, रेकर्डिङ र विदेशका कार्यक्रममा व्यस्त उनी फुर्सदको समय आफ्ना मात्र नभएर अरुको पनि गीत सुन्ने गर्छिन्। उनै मगरले आफूलाई मनपर्ने आफ्ना पाँच र अरुका पाँच गीतको बारेमा उकेरासँग कुरा गरेकी छन्।

आफ्ना पाँच
उहि मुलाको सिन्की उहि मुलाको चाना
टिपिकल दोहोरी गीतहरू आइरहेको त्यो समयमा हामीले नाच्न मिल्ने र अलिअलि मोर्डन मिसाएर गीत निकाल्यौँ। गीत चल्यो पनि। यहि गीतले मलाई ज्योति मगर भनेर चिनायो। त्यहि भएर पनि यो गीत मेरा लागि प्रिय छ। गीतमा रामचन्द्र काफ्ले र मेरो स्वर छ। उहाँको म पहिल्यैदेखि फ्यान थिएँ, त्यो समयमा उहाँसँग गीत गाउन पाउँदा म असाध्यै खुसी भएको थिएँ। गीतमा मेरो आफ्नै शब्दरचना छ।

जिम्बल बाउकी छोरी 
म रामजी खाँणको पनि फ्यान हो। उहाँसँगको यो पहिलो सहकार्य थियो। पहिलो गीत नै हिट भयो। यो मेरो दोस्रो हिट गीत थियो। ‘उहि मुलाको सिन्की’ हिट भइरहेकै समयमा यो गीत पनि आयो, जसले मेरो लागि आगोमा घ्यू थप्ने काम गर्यो। गीत हिट भएपछि अझ धेरै दर्शकस्रोतले मलाई चिन्न थाल्नुभो अनि मिडियाले सफल गायिका भन्न थाले। रामनी खाँण्कै संगीत रहेको गीतको शब्द पनि मेरो आफ्नै हो।

जाली रुमाल
लोक गीत भए पनि यसमा अलिकति रक म्युजिकको फ्युजन छ। यो गीत स्टेजमा वा बाहिर गाउँदा मलाई अहिले पनि मज्जा आउँछ।  गीतको मेलोडी पनि एकदमै दाम्मी छ भने संगीत पनि राम्रो छ। विशाल गुरुङ र मेरो स्वरमा छ यो गीत। शब्द तथा लय पनि मेरै हो।

पिरतीमा दम छ
यो गीत मेरो जीवनमा मेल खान्छ। जीवनको अनुभव समेटेर मैले यो गीत लेखेको हुँ। गीतको शब्द र लय हल्का मीठो अनि सेक्सी टाइपको छ। गीतको भिडियो निर्माणमा पनि हामीले निकै खर्च र मिहिनेत गरेका थियौँ। अरु गीतको तुलनामा यो गीतको भिडियो अलि बढी ग्ल्यामरस छ। गीतमा मेरो र रामचन्द्रै काफ्लेको स्वर सुन्न सकिन्छ।

माइतीको मया बरि लै
मेरो आमाहरूको कथालाई समेटेर तयार पारेको गीत हो यो। मैले गाउँदै आएको गीतभन्दा अलिक फरक छ यो। यो गीतमा मेरो आवाज एकदमै मीठो सुनिएको छ जस्तो लाग्छ मलाई। यो गीतमा पनि मेरो आफ्नै शब्द र लय छ। अनि यो गीतको भिडियो मेरो आफ्नै कथामा निर्माण भएकाले पनि मलाई मन परेको हो।

अरुका पाँच 
ढाडे बिरालो 
यो गीत मलाई त्यस्तो विशेष भएर मन परेको होइन, भाइरल भएकाले मन परेको हो। भाइरल भन्ने शब्द प्रचार गर्ने गीत नै यहि हो। यो गीत सार्वजनिक भएपछि युट्युब र फेसबुक लगायतका सामाजिक सञ्जालमा हिट भयो। अहिले प्रकाश सपुतको गीत जसरी भाइरल हुन्छ, त्यो समयमा यो गीत पनि त्यसरी नै भाइरल भएको थियो। मैले गुनगुनाइरहने गीतमध्ये पर्छ यो गीत। गीतमा प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको स्वर छ भने लय र शब्द प्रकाश कटुवाल र विनोद ढकालको छ।

रैले घुमेर, गयो दाजुको आधा उमेर
यो सदाबहार अनि आफैँमा हिट गीत हो। हरेकको दिमागमा सेट भएको गीत मलाई मात्र नभई अरूलाई पनि उत्तिकै मात्रामा मनपर्छ भन्ने लाग्छ। यो गीत गुनगुनाउँदा आफैँलाई मज्जा लाग्छ। गीतलाई गायक राम थापा र गायिका सुनिता सुब्बाले गाउनुभएको हो।

सुरिलो रुख सल्लै हो
यो मैले एकदमै गुनगुनाइरहने गीत हो। यो गीत सुन्दाखेरि देशप्रतिको भाव झल्केको महशुस हुन्छ। यो गीतको मेलोडी, शब्द, संगीत र स्वर उतिकै मीठो छ। टिपिकल शब्दहरू छन्। जो कसैले पनि यो गीत सुन्दा उनको मन मस्तिस्कमा छुन्छ। गीतलाई ममता दिपबिमले गाउनुभएको छ ।

तिमीलाई म यस्तो माया गरुँ
यो गीत धेरैले सुन्नुभएको छैन होला। तर, मैले जब यो गीत सुने असाध्यै मन छोयो। यो गीतले माया प्रेमलाई गहिराइमा पुगेको अनुभुति हुन्छ। सन्तोष लामाले गाउनुभएको यो गीतमा हरि लम्सालको संगीत छ। गीतको गहिरा शब्दहरू दिनेश अधिकारीले कोर्नुभएको छ। म एक्लै रुममा हुँदा यो गीत गाइरहेको हुन्छु। यो गीतको शब्द तथा संगीत मलाई पूरै याद छ। त्यसकारण पनि यो गीत मलाई मनपर्छ।

हर रात
पछिल्लो समय मलाई मनपर्ने गीत हो यो। विशाल रानाभाटको स्वर रहेको गीतमा पवन रानाभाटको संगीत छ। सुनिलकुमार शर्माले लेख्नुभएको गीतको शब्दले मलाई अझ छोयो। टिकटकको समयमा पनि यो गीत निकै भाइरल भएको थियो। त्यहिबेला मैले पनि यो गीत सुन्ने मौका पाएको थिए। असाध्यै राम्रो लागेको हुनाले डाउनलोड गरेर राखेको छु।

पुष ११, २०८० बुधबार १२:३८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।