दूतावास छेउमै विस्फोट भएपछि भारतका लागि इजरायलद्वारा ‘ट्राभल एडभाइजरी’ जारी

दूतावास छेउमै विस्फोट भएपछि भारतका लागि इजरायलद्वारा ‘ट्राभल एडभाइजरी’ जारी

एजेन्सी : इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ।

परिषद्ले नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिक मंगलबार भएको विस्फोट ‘आतंकवादी हमला’ हुनसक्ने आशंका व्यक्त गरेको छ।

मंगलबार नयाँ दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिकै विस्फोट भएको थियो। मानवीय क्षति नभए इजरायलले यसलाई संवेदनशील रूपमा लिएको छ।

इजरायली दूतावासका प्रवक्ता गाय नीरले भने, ‘मंगलबार साँझ ५:४८ बजे दूतावास नजिकै विस्फोट भएको थियो। दिल्ली पुलिस र सुरक्षा टोलीहरूले अझै पनि यसको अनुसन्धान गरिरहेका छन्।’

विस्फोटपछि मंगलबार इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले एक एडभाइजरी जारी गर्दै यस्ता घटना फेरि दोहोरिने सम्भावना व्यक्त गरेको छ।

परिषद्ले इजरायली नागरिकहरूलाई भीडभाड हुने ठाउँहरू तथा यसअघि विदेशी, इजरायली र यहूदीहरूको भ्रमण गर्ने ठाउँ भनेर परिचित स्थानहरूमा नजान चेतावनी दिएको छ।

उसले आफ्ना नागरिकहरूलाई सार्वजनिक स्थानहरू (रेस्टुरेन्ट, होटल, पब)मा समेत सतर्क रहन अपील गरेको छ।

आफू इजरायली नागरिक हुँ भनेर खुला स्थानमा परिचय नदिन, धेरै मानिस जम्मा हुने कार्यक्रमहरूमा नजान र सामाजिक सञ्जालमा आफ्नो यात्राका योजनाहरू सेयर नगर्न पनि एडभाइजरीमा भनिएको छ। 

पुष ११, २०८० बुधबार ०९:४२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।