कामेश्वर र सुरक्षाले नेपाली वेब सिरिजको क्रेज फैलाउलान्?

कामेश्वर र सुरक्षाले नेपाली वेब सिरिजको क्रेज फैलाउलान्?

काठमाडौँ : बलिउड अनि हलिउड लगायतका क्षेत्रमा ‌ओटिटी र वेब सिरिजले दर्शक तान्न थालेको धेरै भइसक्यो। नेपालमा पनि वेब सिरिज अनि ओटिटीहरु लोकप्रिय छन्। तर नेपालमा भने यो अझैँ परिक्षणकालमै छन्।

प्रयास नभएको हैन, केहीले नेपाली ओटिटी प्लेटफर्मको अभ्यास गरेका त छन् तर हलमा थोत्रिएका फिल्म राख्न। वेब सिरिजको प्रयास गरे पनि त्यो त्यसले निरन्तरता पाउन सकेको छैन।

तर प्रयास भने जारी छ। अहिले फिल्म क्षेत्रमा जमेका कलाकारहरू समेत वेब सिरिज र सिरिजतिर लागेका छन्। पहिला चर्चा गरौँ कामेश्वर चौरसियाको ड्रिम प्रोजेक्ट वेब सिरिज कैँचीको।

अभिनयमा पाएको पेलानबाट दिक्क भएर माछा फेराइ दोकान खोले पनि कामेश्वरलाई फापेन। गाउँतिरै फर्किएका उनको अभिनय क्षमतामा अब्बल भए पनि भने जस्तो अफर नपाएपछि आफैँ वेब सिरिज निर्माणमा लागे अनि नाम जुराए कैँची।

उनले वेब सिरिजको शुभमुर्हत समेत गरिसके सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा। जनवरी १ पारेर सिरिजको छायाङ्कन सुरु गर्ने योजनामा रहेका उनले मधेसको कथा भन्दैछन् सिरिजमा।

सिरिजमा अभिनेता कामेश्वरसँगै आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दीपक आरजे र सरोज शाह छन्।

कैँचीको कथा अभिनेता कामेश्वरले नै लेखेका हुन्। पटकथा र संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन्। यो सिरिजको निर्देशन चैँ नरेश हुन्।

यो सिरिज मधेसमा हुने घटना त्यसले परिवारमा पार्ने प्रभावमा केन्द्रित देखिन्छ। टिजर हेर्दा आपराधिक घटना केन्द्रित हो कि भन्ने देखाएको थियो।

बलिउडमा सहायक भएर गरेको कामको उपयोग गर्न अनुराग प्रधानले नेपाली सिरिज'खेल' बनाउन लागेका छन् जसमा सुरक्षा पन्त लगायतका कलाकार छन्। सिरिज सिधै नेटफ्लिस् जस्तो ओटिटीमा रिलिज गर्ने लक्ष्य राखेका छन् निर्देशकले। यसको पनि मूर्हत भइसक्यो।

बलिउडका केही फिल्ममा सह-निर्देशन गरेका उनले सय वर्ष अगाडिको काठमाडौँको सेटअपमा सिरिज खिच्ने तयारी गरेका छन्। उनले निर्माण नै ओटीटी प्लेटफर्म 'नेटफ्लिक्स'को प्राविधिक मूल्याङ्कनमा आधारित रहेर गर्ने दाबी गरेका छन्।

यो सिरिज पौराणिक र अध्यात्ममा आधारित हुने बताइएको छ। सिरिजमा अभिनेत्री पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतका कलाकार छन्।

सिरिजका निर्माता आशिषराज महर्जन र  लेविसराज महर्जन हुन्। सह निर्माता कुनाल गुरुङ हुन्। निर्माता आशिषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन्।

पुष १०, २०८० मंगलबार २२:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।