अध्यक्ष भेटेर नेविसंघका केन्द्रीय सदस्यहरूले मागे निर्वाचन

अध्यक्ष भेटेर नेविसंघका केन्द्रीय सदस्यहरूले मागे निर्वाचन

काठमाडौँ :  नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्यहरूले १२ औँ अधिवेशन गर्न माग गर्दै अध्यक्ष दुजाङ शेर्पालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

काठमाडौँ उपत्यकामा रहेका केन्द्रीय सदस्यहरूले मङ्गलवार शेर्पालाई भेटेर नेविसंघ १२ औँ अधिवेशन सुनिश्चित गर्न र तत्काल केन्द्रीय समितिको बैठक राख्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

अध्यक्ष शेर्पाले पछिल्लो समय केन्द्रीय समितिको बैठकसमेत नराखेको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए। लामो समयदेखि सङ्घको निर्वाचन नगरी तदर्थ समितिको भरमा चलिरहेको छ।

केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको पूर्ण बैठक तत्काल बोलाउन, समिति बैठक महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गर्न र सङ्गठनको भविष्यलाई आकार दिन समेत माग गरेका छन्।

केन्द्रीय कमिटीको बृहत् बैठकबाट विधानमा आवश्यक परिमार्जन कार्यान्वयन गर्न, प्रतिनिधि छनोट, अधिवेशन आयोजक समितिको गठन र अधिवेशनको पूर्ण कार्य तालिकाको सार्वजनिक गर्न उनीहरूले माग गरेका छन्।

पुष १०, २०८० मंगलबार १९:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।