देश आर्थिक फड्कोमा लागेकोबेला निराशावादीले केही हुन्न भनेर निराशा बढाएको प्रधानमन्त्रीको दाबी

देश आर्थिक फड्कोमा लागेकोबेला निराशावादीले केही हुन्न भनेर निराशा बढाएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाजमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको दाबी गरेका छन्।

उनले भने‘सकिन्नँ, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ। एकथर तत्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्।’

तेस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै उनले ऊर्जा क्षेत्रमा भएको क्रान्तिले मात्रै लोकतन्त्रको भविष्यलाई थप उज्यालो बनाएको बताए।

देशमा सबै नराम्रो मात्र भइरहेको छ भनेर वातावरण निराशाजनक बनाउन प्रयास भइरहेको बताउँदै उनले प्रश्न गरे’ के देशमा साँच्चै केही नभएकै हो? के देश पूर्ण रूपमा सम्भावनाहीन बन्दै गएको हो?’

आफू दोस्रोपटक प्रधानमन्त्री हुनु अघिसम्म देशमा १८ घण्टासम्मको लोडसेडिङलाई नियति मानिएको उल्लेख गर्दै उनले आज लगभग सिङ्गो देशमा विद्युत्को पहुँच पुगेको,वर्षायाममा पनि विद्युत् आयात गर्नुपर्ने अवस्थाबाट देश विद्युत् निर्यात गर्ने ठाउँमा पुगेको बताएका थिए।

एक वर्षमा सात सय मेगावाटसम्म विद्युत् निर्यात गरी १५ अर्ब २७ करोड बराबरको विदेशी मुद्रा आर्जन गरिएको,

नेपालको विद्युतीकरण यात्रामा १०४ वर्षमा जम्मा आठ सय मेगावाटमात्र उत्पादन क्षमता पुगेको तर ७ वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता बढेर २ हजार ८ सय ९२ मेगावाट पुगेको उनले बताए।

‘करिब ५ सय ४१ मेगावाट यही एक वर्षमा मात्र थप भएको छ। विगतका हिसाबले यो एक वर्ष करिब असी वर्ष बराबर हो। तर, मैले यसमा सन्तोष मानेको छैन। मेरो विश्लेषणमा हामीसँग यस क्षेत्रमा भएको सम्भावनाको तुलनामा यो साह्रै सानो उपलब्धि हो‘ उनले भने।

यसै वर्ष भएको भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्यका साथ दीर्घकालीन जलविद्युत् सम्झौताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको बताउँदै उनले यो नेपालकोसमृद्धिका लागि इतिहासकै सबैभन्दा ठुलो र दूरगामी महत्वको सहमति भएको दाबी गरे।

भारतसँगै बङ्गलादेशसँग पनि विद्युत् व्यापारको एकदमै नजिक पुगेको र नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन थालेको उनले बताए।

आफ्नो चीन भ्रमणको क्रममा नेपाल चीन जोड्ने चिलिमे–केरुङ २ सय २० केभी प्रसारण लाइन अगाडि बढाउने सहमति भएको बताउँदै उनले यो प्रसारण लाइन बन्ने बित्तिकै चीनसँग पनि विद्युत् व्यापारको ढोका खुल्ने जानकारी दिए।

‘देशभित्र पनि हामी उद्योग र चुलोदेखि यातायातसम्म विद्युत् खपत बढाएर आत्मनिर्भरताको नयाँ युगतिर अगाडि बढ्दैछौं। गम्भीर भएर सोचौँ त, देशले हरेक वर्ष कम्तीमा पाँच खर्बको बिजुली निर्यात गर्न र त्यति नै बराबरको आयात प्रतिस्थापन गर्न सक्दा अरू विकसित देशसरह हुन हामीलाई कति नै वर्ष लाग्ला र?’ उनले भने।

प्रचण्डले भारत, बङ्गलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठुला जलविद्युत् आयोजनाहरूमा लागेको बताए।

बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने उनले बताए।

तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १० हजार आठ सय मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको उनले बताए।

१ हजार ९ सय २ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको, हाल कार्यान्वयनमा रहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै सहजीकरण गरिरहेको बताए।

एक हजार ६ सय ३ मेगावाट क्षमताको माथिल्लो अरुण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।

आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिब ५ सय ६४ मेगावाट उत्पादन थप हुने जानकारी दिँदै उनले हालसम्म ९ हजार १ सय ६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र यस वर्षमात्र करिब २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको जानकारी दिए।

‘सुनकोसी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिँचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६ सय ७८ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’ प्रचण्डले भने ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेको छु।’

पुष १०, २०८० मंगलबार १७:४६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।